भाषा परीक्षा उत्तीर्ण गरेर म्याद सकेका कारण कोरिया जान युवाहरू १० दिनदेखि धर्नामा बसेका छन् । परीक्षा उत्तीर्ण गरेर दुई वर्षसम्म पनि रोजगारीका लागि कोरिया जान नपाएपछि ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान परिसरमा उनीहरू धर्नामा बसेका हुन् । सन् २०२२ को भाषा परीक्षा उत्तीर्ण गरेर सन् २०२३ देखि रोस्टरमा परेका ६ हजारभन्दा बढी युुवा पीडित भएकाले धर्ना दिन बाध्य भएको काभ्रेका युवा हर्क लामाले बताए । ‘तीन वर्षदेखि कोरियाको रोजगारी सपना देखेर बसेका छौँ । तर, सरकारको प्रक्रियागत त्रुटिका कारण कोरियाली रोजगारदातासमक्ष हाम्रो फाइल पेस नहुँदा कोरिया जान वञ्चित भएका छौँ,’ लामाले भने, ‘त्यसैले, हाम्रो उचित व्यवस्थापन हुनुपर्ने माग छ ।’
सरकारले इपिएस प्रणालीमार्फत कोरियन परीक्षा उत्तीर्ण गरेकालाई रोस्टरमा राखेर कोरिया पठाउन सहजीकरण गर्दै आएको छ । एकपटक भाषा परीक्षा दिएपछि दुई वर्षका लागि मान्य हुने मापदण्ड छ । तर, दुई वर्षमा पनि रोजागरीका लागि कोरिया जान नपाए पुन: सुरुदेखि परीक्षा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था छ । सोही कारण तालिम केन्द्रपरिसरमा दैनिक दुई सय हाराहारी युवा भेला भएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिइरहेका छन् । यसअघि उनीहरूले इपिएस कोरिया शाखा, ग्वार्कोमा समेत धर्ना दिएका थिए । तालिम केन्द्रको भवनमा इपिएस प्रणालीबाट रोजगारीमा पठाउने कोरियाली अधिकारीको समेत कार्यालय रहेकाले ध्यानाकर्षण गराउन धर्ना दिइरहेको लामाले जानकारी दिए ।
अर्का युवा प्रबल खनालले सरकारको कमजोरीका कारण कोरिया जान नपाएका युवालाई व्यवस्थापन गर्ने जिम्मा सरकारले नै लिनुपर्ने बताए । ‘जुन क्षेत्रमा नेपाली श्रमिकको माग घटिरहेको छ, त्यो क्षेत्रको रोस्टर अन्यत्र परिवर्तन गर्नका लागि सरकारका तर्फबाट कम पहल भयो,’ उनले भने, ‘वेलैमा रोस्टर परिवर्तनको पहल भएको भए यो दिन आउने थिएन । एक महिनाअघि मात्रै ठुलो संख्यामा रोस्टर परिवर्तन गर्दा केही फाइदा हुँदैन ।’ अहिले कृषिभन्दा उत्पादनतर्फ बढी माग आइरहेका कारण रोस्टर परिवर्तनलाई प्राथमिकतामा राखेर इपिएस शाखाले काम गर्नुपर्ने माग राखेको लामाले जानकारी दिए । युवाले भाषा परीक्षाको म्याद सकिएकालाई दुई वर्ष समयावधि थप्नुपर्ने माग राखेका छन् । त्यस्तै, कोरियाली रोजगारदाताकहाँ रोस्टरमा रहेका सबै युवाको फाइल पठाउनुपर्ने उनीहरूको माग छ । ‘कसैको फाइल एक सयवटा रोजगारदाता कम्पनीकहाँ पठाइएको छ, कसैको फाइल एक ठाउँ पनि नपठाएको स्थिति छ,’ लामाले भने, ‘त्यसैले यो बेथितिको अन्त्य हुनुपर्छ भन्ने माग हो ।’
भाषा परीक्षा उत्तीर्ण नौ हजार युवाको रोजगारी अन्योलमा
कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये आठ सय ५३ युवाको कोरिया जाने समय सकिएको छ । थप तीन हजार सात सय ९६ युवाको समयावधि फेबु्रअरी अन्त्यमा सकिँदै छ । यसरी भाषा परीक्षा उत्तीर्णमध्ये चार हजार ६ सय ४९ युवाको कोरियाली रोजगारी गुमिसकेको छ । किनभने फेब्रुअरी अन्त्यमा समय सकिने युवाको अहिलेसम्म रोस्टरमा पालो नआएकाले आगामी दिनमा प्रक्रिया टुंग्याएर कोरिया जान सम्भव छैन । इपिएस शाखाका अनुसार अबको एक वर्षभित्र कुल आठ हजार नौ सय दुईजना युवाको समायावधि सकिने जोखिम छ ।
अहिले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका करिब १५ हजार युवाले कोरियामा रोजगारीको सपना देखिरहेका छन् । यीमध्ये उत्पादनतर्फ आठ हजार युवा छन् । त्यस्तै, कृषितर्फ तीन हजार, पानीजहाजतर्फ दुई हजार र पुन: कोरिया जानका लागि करिब दुई हजार युवा लाइनमा रहेको कार्यालयले जनाएको छ । उक्त संख्यामा यो वर्ष ५३ सय थपिन लागेका छन् । गत असोजमा लिइएको पहिलो चरणको भाषा परीक्षामा एक लाख तीन हजार युवा सामेल भएका थिए । कोरियाले यो वर्ष उत्पादनतर्फ ३५ सय र कृषितर्फ १८ सय युवा लैजाने गरी कोटा निर्धारण गरेको छ ।
सरकारसँग वार्ता भए पनि छैनन् सन्तुष्ट
पीडित युवाले गत ६ माघमा इपिएस शाखा कार्यालय, ग्वार्कोमा आन्दोलन गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएर युवाको समस्या सुनेको थियो । ७ माघमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा भएको छलफलमा युवाको माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारी पक्षले जनाएको थियो । त्यसपछि श्रममन्त्री राजेन्द्रसिंह भण्डारीकै उपस्थितिमा ८ माघमा भएको छलफलमा कूटनीतिक माध्यमबाट रोजगारीको समस्या समाधान गर्ने सरकारले आश्वासन दिएको थियो ।
मन्त्रालयबाट एक टोली कोरिया नै पठाएर समस्या हल गर्ने प्रतिबद्धतासमेत भएको थियो । तैपनि, सुनुवाइ नभएपछि धर्ना दिन थालेको लामाले जानकारी दिए । ‘सरकारले आश्वासन दिने काम मात्र गर्यो, हाम्रो काम केही भएन,’ उनले भने, ‘एकपटक कोरियाली अधिकारीसँगै वार्तामा बसौँ न भन्दा पनि सुनुवाइ भएन ।’