कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई बोलाउन चीन ‘गम्भीर’

19 August, 2021

लक्ष्मी लम्साल

बेइजिङ — चीनले कोभिड−१९ महामारीका कारण नेपाल फर्किएका तथा नयाँ शैक्षिक सत्रमा अनलाइनबाट अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई बोलाउन आफू गम्भीर रहेको जनाएको छ । कम्तीमा ‘इन्टर्नसिप’ गर्नुपर्ने विद्यार्थीलाई सकेसम्म छिटो बोलाउन गरेको अनुरोधमा चीनले यस्तो प्रतिक्रिया दिएको चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले बताए।

चीनको परराष्ट्र मन्त्रालय, एसियाली विभागका नवनियुक्त महानिर्देशक लिउ चिनसुङ्सँग राजदूत पाण्डेले गत बुधबार बेइजिङमा भेटवार्ता गरेका थिए। ‘चीनमा पढेर फर्किएका विद्यार्थीहरू नेपालमा यत्तिकै अलपत्र परिरहेको बताएपछि चिनियाँ अधिकारीले गम्भीरता देखाए’, राजदूत पाण्डेले कान्तिपुरसँग भने, ‘महानिर्देशक लिउले यो विषयलाई ‘सिरियस्ली नोट’ गरेको भन्नुभएको छ। केही पहल गर्ने आशा छ।’

चीनमा प्रवेश गर्नका लागि अन्य देशका विद्यार्थीहरूले पनि दबाब दिइरहेका छन्। सन् २०२० को प्रारम्भदेखि नै स्वदेश फर्किएका विदेशी विद्यार्थीहरूले फर्किन पाऊँ भन्दै ताकेता गरिरहेको महानिर्देशक लिउले बताए ।

पाण्डेले नेपालजस्तो घनिष्ठ छिमेकी र अन्य अन्तर्राष्ट्रिय मामिलामा समेत समान धारणा भएको मित्रदेशका विद्यार्थीहरूलाई सक्दो पहल गरेर चीन प्रवेश गराउन अनुरोध गरेपछि नवनियुक्त महानिर्देशक लिउले आफूले सक्दो पहल गर्ने आश्वासन दिए।

नेपालमा फर्किएका अधिकांश विद्यार्थीहरूले खोप लगाइसकेको र स्वास्थ्यका मापदण्ड पूरा गरेरै चीन फर्किनसक्ने भएकाले जतिसक्दो चाँडो विचार गरिदिन पनि पाण्डेले आग्रह गरे। 

‘अरूभन्दा पनि इन्टर्नसीप गर्नुपर्ने एमबीबीएसका र एमडी गर्नुपर्ने विद्यार्थीहरूलाई कुनै पनि हालतमा चीनमा बोलाउनुपर्यो, राजदूत पाण्डेले भने, ‘उनीहरूले भ्याक्सिन लगाइसकेका छन्, चीन फर्किँदा पनि तोके बमोजिमको क्वारेन्टिनमा बस्छन्, न्यूक्लिक एसिड परीक्षण नेगेटिभ भएपछि नै चीन भित्रिने हो। यो काममा अब ढिलाइ गर्नुहुँदैन।’ 

कोरोना महामारी नियन्त्रणमा विभिन्न देशको अवस्था सुध्रिनसकेको हुँदा अधिकांश देशबाट विदेशी विद्यार्थीहरू चीन फर्किन पाएका छैनन्। तर कोरिया वा केही देशका नागरिक भित्रिने क्रम हल्का रूपमा बढेको छ। अर्मेनियाका विद्यार्थीलाई चीनमा ल्याउनेबारेमा पहल भएको जानकारी पाएको चीनस्थित केही नेपाली विद्यार्थीहरूले पनि बताएका छन्।

एसियाली विभागका महानिर्देशक लिउ यसअघि भारत, बेलायत लगायतका देशमा बसेर पर्याप्त अनुभवी भएकाले नेपालको विषयमा परिचित रहेको आफूले पाएको राजदूत पाण्डेले बताए।

भेटमा राजदूत पाण्डेले महानिर्देशक लिउलाई एसिया विभागको डाइरेक्टर जनरलको कार्यभार सम्हालेकोमा बधाई दिए। बेइजिङस्थित नेपाली दूतावासका अनुसार भेटवार्तामा चीन र नेपालबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो।

एक चीन नीतिप्रति नेपालको अटुट प्रतिविद्धतामा महानिर्देशक लिउले सन्तुष्टि व्यक्त गरे। हाल नेपालमा कोभिड-१९ संक्रमण २० प्रतिशत भन्दा माथि रहेकोले नेपाललाई आवश्यक भ्याक्सिन र स्वास्थ्य उपकरण प्रदान गर्न पाण्डेले अनुरोध गरे।

त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारी तथा सम्झौताहरु र बेल्ट एण्ड रोड (बीआरआई) अन्तर्गतका परियोजनाहरुलाई कार्यान्वयनमा लैजाने तथा दुई देशबीच गठित संयुक्त आयोग तथा समितिका बैठकहरूलाई आगामी दिनमा नियमित गर्ने विषय र चीनतर्फ नेपालको निकासी प्रणाली सहज बनाउने बारेमा पनि कुराकानी भएको नेपाली दूतावासले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026