केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

26 August, 2022

ठाकुरप्रसाद आचार्य

म्याग्दी, भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चारपाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो ।

विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा ब्याट्री जडान गरिएका छन् । तीनदेखि चार घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिने केसीले बताउनुभयो ।

‘कोरियामा विगत ६ वर्षदेखि गाडी चलाउँदै आएको थिएँ, गाडी बिग्रिएमा आफै मर्मत गर्थें । म आफै गाडी बनाउन सक्छु कि भनेर पाँच पटक प्रयास गर्दा अहिले गाडी बनाउन सफल भएँ’ केसीले भन्नुभयो । केसीले बनाएको गाडीमा दुई वटा इन्जिन जडान गरिएका छन् । दुई वटा इन्जिन भएपछि गाडी सहजै गुड्ने उहाँको भनाइ छ ।

गाडी बनाउने तरिका युट्यूबमा हेरेर सिकेको उहाँले बताउनुभयो । पाँच महिनाको प्रयासपछि आफूलाई सफलता हासिल भएको उहाँको भनाइ छ । ‘गाडीको अगाडिको भागमा दुईजना बस्न मिल्ने सिट छ । पछाडिको भागमा ५०० केजीसम्म सामान बोक्न मिल्छ’ केसीले भन्नुभयो ।

आफैले गाडी बनाएर गुडाउँदा निकै खुसी मिलेको केसीले सुनाउनुभयो । ‘गाडी गुड्ने भएको छ, अब स्ट्रक्चर जडानको काम बाँखकी छ’ केसीले थप्नुभयो, “गाडी बनाउने पहिलादेखिकै रहर थियो, धेरै कोशिस गर्दा सफल भएँ ।” वातावरण मिलेमा नेपाल फर्किएर गाडी बनाउने काम गर्ने उहाँले बताउनुभयो । गाडी बनाएर चलाएको देखेर कोरियामा भएका र नेपालमा भएका आफन्त, साथीभाइ र इष्टमित्रले बधाई दिएको उहाँले सुनाउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024