केयर गिभरको संख्या र लागत दुवै बढ्ने संकेत

14 March, 2018

वैदेशिक रोजगार विभागले इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीबा) प्रमुख मोत्से नाकासु तथा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरसँग नेपाली कामदारको कोटा बढाउने विषयमा छलफल गरेको छ ।

 

इजरायलको पीबा संस्थाका प्रमुख मोत्से नाकासु दुई दिने दिने भ्रमणका लागि नेपालमा छन् । इजरायलले नेपालबाट वार्षिक करीव पाँच सय नेपाली कामदार लैजाने बारेमा चासो देखाएपछि त्यसैमा केन्द्रीत रहेर छलफल भएको विगका महानिर्देशक भुवन आचार्यले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

 

छलफलमा नेपाली पक्षले पाईलट प्रोजेक्ट अन्तरगत हालको कामदार छनोट प्रक्रियामा रहेका केही प्राविधिक पक्षमा सुधार हुनुपर्ने धारणा राखेको छ । केयर गिभरमा इजरायल जान आवेदन दिएकाहरु मध्येबाट योग्य भन्दा चिठ्ठामार्फत  आकस्मिक शैलीमा छनोट गरेर परीक्षा लिइएको थियो । त्यसमा तत्कालीन मन्त्री सूर्यमान गुरुङ समेतले इजरायली राजदूत समक्ष असन्तुष्टि जनाएका थिए । मंगलबारको छलफलमा पनि यस विषयलाई उठाई आवदेन बुझाएका सबैको भाषा परीक्षा लिन प्रस्ताव गरिएको महानिर्देशक आचार्यले बताए । त्यस विषयमा इजरायली पक्षले ठोस जवाफ दिएको छैन ।

 

इजरायल जान नेपाली कामदारले स्वास्थ्य परीक्षण, बीमा, हवाई खर्चलगायत गरी लगभग ९ सय ५० डलर मात्रै तिर्न पर्छ । तर इजरायली पक्षले आगामी दिनमा  कामदारको लागत बढ्न सक्ने संकेत दिएको छ । के–के विषयमा बढाउन थालिएको हो त्यस विषयमा भने इजरायली पक्षले ठोस खाका प्रस्तुत गरेको छैन । अर्को छलफल केही समय पछि हुने भनिएपनि समय तालिका भने निर्धारित हुन नसकेको बताइएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024