कुवेत दुर्घटना र मृतक श्रमिकको क्षतिपूर्तिबारे बुझ्न दूतावासले गर्‍यो स्थानीय कानुन व्यवसायी परिचालन

18 March, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको विषयमा जानकारी लिएका छन्।

कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन्।

दूतावासका अनुसार दुर्घटनामा परी काठमाडौं सानो भर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो।

मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्।

दुर्घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका छन्।

कुवेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताएको छ।

मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको ज्यान गएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026