कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

21 August, 2025

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गरेका छन्।

बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गरिन्। यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड शुरू गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताइन्।

यस्तै, सांसद जनार्दन शर्माले पनि कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गरे।

यसअघि गत शुक्रबार कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गर्दै विषादीयुक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना भएको र तीमध्ये केहीको ज्यान गएको जनाएको थियो।

विदेशमा आफ्ना नागरिकको ज्यान गएकोबारे दूतावासले नै अपुष्ट सूचना दिएको भन्दै सामाजिक सञ्जालमा धेरैले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि दूतावासले यस घटनापछिको अवस्थाबारे कुनै जानकारी दिएको छैन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024