कुवेतमा अवैध मदिरा उत्पादनमा नेपालीको संलग्नता बढ्दो

12 June, 2018

होम कार्की

कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरीक मन्त्रालयको प्रतिवेदन अनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराध जन्य घटना घटेको थियो ।

जसमा सबैभन्दा पहिलो सूचीमा इजिप्सियन नागरिक २ हजार ६ सय २१, दोस्रोमा बेडवेन नागरिक १८ सय ३, तेस्रोमा भारतीय ११ सय ३१, चौधो सिरियन एक हजार ६ र पाँचौमा साउदी नागरिक ८ सय ६ अपराध घटनामा संलग्नमा छन्। त्यसपछि क्रमश: बंगालदेशी (५०२), श्रीलंका (१९३), फिलिपिन्स (३४३), जोर्डन (२३२), पाकिस्थानी (२९६), इरानी (२३४), लेवनान (२३३) र इराकी (१६५) नागरिक संलग्न छन्।

 

यसरी ‘इमान्दार’को छवि बोकेको नेपाली कामदारलाई पछिल्लो समयमा एउटा दाग लागेको छ,‘यिनीहरु रक्सी बनाउने र बेच्ने काम गर्छन्।’

 

कोठाकोठामा रक्सी भट्टी

 

एकजना नेपालीले आफ्नो नाममा अपार्टमेन्ट भाडामा लिएका थिए। भाडा निकै महँगो पर्ने हुँदा कोठामा अरु नेपालीलाई राखेका थिए। अपार्टमेन्टमा जाडको गन्ध आएपछि मात्रै उनले गैरकानुनी काम भइरहेको सुइँको पाए। ‘एकदिन अघि मात्रै थाहा नपाएको भए म आफैं जाँडरक्सी उत्पादन र बिक्रीमा जेल जानुपर्दथ्यो,’ ती नेपालीले भने, ‘बेलैमा थाहा पाएर जोगिएँ।

 

उनका अनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ। ‘थौरै परिणाममा कोठामै बन्छ। ठूलो परिणाममा भने सिंगो भिल्ला लिएर उत्पादन हुन्छ,’ उनले भने। कुवेतको हसाविया, फर्वानिया, महावुल्ला, माङगाफ, हवाली, जिलिव लगायत क्षेत्रमा नेपाली सहित आप्रवासीको उल्लेख बसोवास छ। सबैभन्दा बढी गैरकानुनी काम हुने क्षेत्र हसाविया हो। ‘महँगोमा बिक्री हुनेहुदाँ कतिपय गिरोहको नाइके नै कुवेती समेत हुने गरेका छन्,’ ती नेपालीले भने।

 

एक बोतल रक्सीको मूल्य ३५ सय

 

शनिबार मात्रै कुवेत प्रहरीले साद अल–अब्दुल्लाहा क्षेत्रमा नेपालीको मदिरा भट्टी नै फेला परेको थियो। त्यसमा तीन महिला सहित ६ नेपाली पक्राउ परे भने २ सय ५० ब्यारेल र ९ सय ८० बोतल मदिरा बरामद भयो।

 

कुवेत प्रहरीले मदिरा उत्पादन, बिक्री र सेवन कार्यमा संलग्न हुने नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ। पछिल्लो समयमा यस्तो काममा झन नेपालीको संलग्नता बढिरहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेले बताए। ‘कुवेतमा मदिरा सेवन र बिक्रीवितरणमै रोक लगाइएको छ, तैपनि लुकीछिपी बिक्री हुँदै आएको देखिन्छ,’ उनले भने, ‘हरेक दिनजसो नेपाली नै पक्राउ भइरहेका छन्।’

 

झन्डै डेड लिटरसम्म रक्सीको प्रतिबोतल १० केडी अर्थात तीन हजार ५ सय रुपैयाँमा बिक्री हुन्छ। विदेशी रक्सी यो भन्दा अझ बढी ४५ केडीसम्म बिक्री हुन्छ। न्युन आम्दानी भएका कामदार यस्तो कार्यमा बढी संलग्न छन्।

 

घरेलु कामदारका रूपमा आएका महिलालाई यसमा बढी प्रयोग गर्ने गरिएको बताइन्छ। काम गर्ने घरमा दु:ख पाएका महिलालाई भगाएर कोठामा राख्ने गिरोह नै छ। ‘कसैलाई जबरजस्ती मदिरा उत्पादन गर्ने कार्यमा बाध्य बनाएको देखिँदैन, पैसाको लोभमा उनीहरू आफैं संलग्न भएको देखिन्छ,’ १३ वर्षदेखि कुवेतमा कार्यरत बारा डुमरबानाका डम्बर रिमालले भने, ‘यस्तो कार्य गैरकानुनी भन्ने सबैलाई थाहा छ, तैपनि बनाइरहेका छन्।’

 

खाने डिपोर्ट, बेच्ने जेल

 

प्रहरीले यस्तो कार्यमा संलग्न नेपालीलाई पक्राउ गरी डिपोर्ट गर्दै आइरहेको छ। ‘जसले सेवन गर्छ, उनीहरू डिपोर्टमा पर्छन्। उत्पादन र बिक्रीवितरण गर्नेलाई भने सजाय नै तोक्ने गरिएको छ,’ उनले भने। ठूलो परिणामा उत्पादनमा संलग्न भेटिएकाहरु भने जेल पठाउने गरेको छ।

 

नेपाली दूतावासका अनुसार जेलमा भएकामध्ये सबैभन्दा बढी लागूऔषध सेवन तथा ओसारपसारसँग सम्बन्धित नेपाली छन्। ‘कुवेतको केन्द्रीय जेलमा सजाय पाएका ६ महिलासहित ७० नेपाली छन्। तीमध्ये ७५ प्रतिशत लागूऔषध मुद्दामा छन्,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले बताए। यसअघि कुवेत प्रहरीले केही समयअघि सुँगुरको मासु बिक्री गर्ने नेपालीलाई डिपोर्ट गरेको थियो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026