काेरिया जान तीन दिनमै ५० हजार आवेदन

25 March, 2018

कमल न्यौपाने

वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नवौं पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको तीन दिनमै ५० हजारभन्दा बढीले अनलाइनका माध्यमबाट भाषा परीक्षाको आवेदन दिएका छन्।

कोरियामा रोजगारीका लागि जाने आशामा शनिबारसम्म यतिले आवेदन दिएका हुन्। ५५ हजारले ग्लोबल आईएमई बैंकमार्फत प्रतिव्यक्ति आवेदन फारमको २४ डलर शुल्क बुझाइसकेका छन्।

 

कोरियाले ईपीएसअन्तर्गत आगामी आर्थिक वर्षमा सात हजार एक सय जना नेपाली लैजाने जानकारी दिएको छ। त्यसैले कोरिया जाने आशामा धेरै युवाले आवेदन दिएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए।

 

आवेदनका लागि बुधबार रातिदेखि नै युवाहरू लामबद्ध थिए। तीन दिनमा भरेको फारमको अवस्था हेर्दा यस वर्ष गतवर्षको तुलनामा बढी आवेदन फारम भरिने अनुमान गरिएको उनको भनाइ छ।

 

फारम भर्ने म्याद चैत १७ गतेसम्म छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्ने निर्देशक खनालले बताए। भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ। आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले पोखरा र अरूले काठमाडौंमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। यसपटक सात हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ। त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा चार हजार आठ सय र कृषि क्षेत्रमा दुई हजार तीन सय कोटा निर्धारण गरिएकोे छ। अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ७५ हजारले आवेदन दिएका थिए।

 

बढ्दै कोरिया क्रेज

 

पछिल्लो समय कोरिया रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेकाे छ। नेपालीको ‘कोरिया क्रेज’ विगत पाँच वर्षदेखि तीव्र रूपमा बढ्दै गएको निर्देशक खनालले बताए। कोरिया सरकारले समेत नेपाललाई दिने कामदार माग कोटा बढाउँदै लगेको छ। कोटा वृद्धिले नेपालीका लागि कोरिया अझै आकर्षक गन्तव्य बनेको छ।

 

ईपीएसअन्तर्गत गतवर्षसम्म ५० हजार एक सयभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया गइसकेको निर्देशक खनालले जानकारी दिए। रोजगारीका लागि कोरिया खुला गरिएपछि सन् २०१६ मा सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेको उनले बताए।

 

रेमिट्यान्स स्थिर

 

कोरिया जाने नेपाली कामदारको संख्या बढेको छ। तर संख्या अनुपातमा त्यहाँबाट भित्रिने रेमिट्यान्स भने खासै बढेको छैन। रोजगारीका लागि वार्षिक सात हजारभन्दा बढी कामदार कोरिया जाने गरेको निर्देशक खनालले बताए।

 

कामदारले पाउने पारि श्रमिकअनुसारै रकम पठाउने हो भने पनि प्रत्येक वर्ष ४० अर्ब रुपैयाँ आउनुपर्ने हो। तर अहिलेसम्म त्यसको एकतिहाई मात्र रेमिट्यान्स भित्रिने गरेको उनले जानकारी दिए। कोरियामा नेपाली कामदारको मासिक तलब न्यूनतम एक लाख ५० हजार रुपैयाँ तोकिएको निर्देशक खनालले बताए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024