काम गर्न भारत पुगेका सोम मृत फेला, भाइ र साथीले भागेर ज्यान बचाए

22 May, 2025

खगेन्द्र अधिकारी

भारतको रुद्रपुर उत्तराखण्डमा ताप्लेजुङको फुङलिङका एक युवा मृत भेटिएका छन्। सोही पुगेका मृतकका भाइ विजय लिम्बू र साथी भाग्य लिम्बू दुई जना भने भागेर नेपाल आइपुगेका छन्। कुटपिट र दबाब सहन नसकेर रातारात भागेर नेपाल आएका उनीहरुले पीडकलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले मृत भेटिएका फुङलिङ बाँझोगराका अन्दाजी २८ वर्षीय सोम लिम्बू रहेका छन्। उनको शव नेपाल ल्याउने प्रकृया सुरु भएको उनले जानकारी दिए ।

‘कानुनी प्रकृया पूरा गरी शव ताप्लेजुङसम्मै ल्याउने प्रकृया सुरु भएको छ’डिएसपी गौतमले भने । घटनामा परी पीडित भनिएकाहरूको बयानका आधारमा घटनाको थप र सूक्ष्म अनुसन्धानको प्रकृया सुरु भएको समेत उनले बताए।

पीडितहरूले बताएको घटना विवरण सुन्दा यो घटना निकै ठूलो र थुप्रै प्रभावित भएको आशंका गरिएको प्रहरीले बताएको छ। प्रहरीलाई उनीहरुले दिएको जानकारी अनुसार भाग्यमार्फत विजय र विजयमार्फत सोम त्यहाँ पुगेका थिए । भाग्य उनकै अर्का साथीमार्फत त्यहाँ पुगेको भाग्य आफैंले जानकारी दिए । सोमको मृत्युको खबर विजयले मङ्गलवार राति थाह पाएका हुन् ।

विजय र भाग्यले बिल काट्ने, कपडा प्याकिङ गर्ने, कम्प्युटर काम गर्ने र मासिक भारतीय रुपैयाँ ६० हजार सम्म कमाई हुने प्रलोभनका कारण आफुहरु त्यहाँ पुगेको बताए । उनीहरुले कसैले यस्तो प्रलोभनमा पारेर बोलाएमा नजान तथा त्यहाँ पुगेकाहरूलाई ज्यान बचाएर तत्काल घर फर्कन सल्लाह दिएका छन् । भाग्यका अनुसार उनी चैत २१ गते बुटवल हुँदै बोर्डर पार गरेर रामपुर हुँदै रुद्रपुर पुगेका थिए । भाग्यले बोलाएपछि विजय बैशाख ४ गते त्यहाँ पुगे भने विजयले बोलाएका उनका दाजु सोम बैशाख ७ गते रुद्रपुर पुगेका थिए ।

कसरी पुगे उनीहरु भारत

विजय र भाग्यका अनुसार भारतको रुद्रपुरमा ग्याल्बे कम्पनी भनेर कोठा भाडामा लिइएको छ । त्यहाँ पुग्ने बित्तिकै कम्पनीले आधार कार्ड बनाउन र राशन कार्ड बनाउन भनेर प्रतिव्यक्ति ५० देखि ६० हजार रुपैयाँ लिने गरेको छ । विजयका अनुसार त्यतिले मात्र पुग्दैन । कम्पनीले प्रत्येक व्यक्तिलाई आफ्ना ५–७ जनाको समूहमा मान्छे बोलाउनुपर्ने नियम बनाउँछ । म्यासेन्जरमा कुरा गर्न लगाएर साथी बोलाएपछि थप सम्पर्क गर्न दिदैंन ।

विजयले भने, ‘मैले दाजु बोलाएँ, मलाई पैसा जम्मा गर्न भनियो, तर मैले मेरो बुबा बिरामी भएको दिदीमार्फत ताप्लेजुङबाट भिडियो पठाउन लगाए, कम्पनीका बोसलाई भिडियो देखाएँ, बुबा बिरामी भएको अस्पतालको कार्ड देखाएँ, मलाई कुटपिट गर्दै कोठाबाट बाहिर निकालियो र म भागेर आउन सफल भए ।

विजयले दाजुलाई भेट्न पाएनन् । उतै छाडेर हिँडेका विजयले दाजुको मृत्यु भएको खबर मात्र पाए । भाग्यले पनि आफू त्यसरी नै भागेर ज्यान बचाउन सकेको बताए । विजय र भाग्यका अनुसार अहिले त्यहाँ करिब ५ सय बढी नेपाली यस्तै प्रलोभनमा परेर बसेका छन् । भाग्य र विजय समेत अलग–अलग कोठामा थिए । उनीहरु रहेको ठाउँमा भने ५०–६० जना नेपालीहरू रहेको भाग्य र विजयले बताए ।

विजय र भाग्यका अनुसार एक व्यक्तिले ५–७ जना बोलाएपछि मात्र कमिसन पाइने भन्दै कम्पनीले प्रत्येक व्यक्तिलाई घर परिवार, आफन्त र साथीभाइ बोलाउन लगाउँछ । मान्छे नबोलाए ज्यान मार्ने धम्कीसम्म आफुले खेपेको भाग्य र विजयको भनाई छ । आफैंले बोलाएका व्यक्तिलाई भेटघाट र सम्पर्क गर्न पाईदैंन । आफुले बोलाएका सबै व्यक्तिले ५०–६० हजार रुपैयाँ जम्मा गर्नु अनिवार्य छ ।‘मान्छे हेरिहेरी पनि रकम लिने गरेको पाइयो’ भाग्यले भने।

उनका अनुसार त्यहाँ पुगेका प्रत्येक व्यक्तिलाई कोठामा थुनेर राखिन्छ । खानामा पानी र अलिकति भात दिने गरेको उनीहरुले बताए । उनीहरुले सुने अनुसार त्यो कम्पनीका बोसको नाम वीरेन्द्र शाही हो । ‘हामीलाई ती मान्छे को हुन् भन्ने प्रष्ट छैन,तर त्यहाँ बसेकाहरूले दिएको जानकारी अनुसार उनको नाम वीरेन्द्र शाही हो भन्ने मात्र थाह छ’ भाग्य र विजयले भने, ‘उसको घर चाहिँ धनगढी तिर भन्ने सुनेको हो’ प्रहरीले ती व्यक्तिको आधिकारिता खोजिरहेको छ । भाग्यका अनुसार बिहान त्यहाँ ‘ग्याल्बे जोस’ भन्दै त्यहाँ पुगेका मानिसलाई जोडले कराउन लगाइन्थ्यो । जसले जो मान्छे बोलाएको हो,उसको लुगा धुने काम उसैको जिम्मेवारीमा पर्ने उनीहरूको भनाई छ ।

घटनाको अनुसन्धान सुरु भइसक्यो: प्रहरी

दाजु गुमाएका भाइ नै आएर घटना बारे प्रहरीलाई बताएपछि ताप्लेजुङ प्रहरीले यो घटनालाई ठुलै प्रकृतिको अपराधको रुपमा लिएर अनुसन्धान अघि बढाउने सङ्केत गरेको छ । जिल्ला प्रहरी प्रमुख(डिएसपी)गौतमले घटनाको प्रारम्भिक जानकारी लिएर यसका बारेमा थप प्रकृया अघि बढाउने तयारी भइरहेको बताए । प्रहरीले भाग्य र विजयको भोगाई र भनाइका आधारमा घटनाको सूक्ष्म अनुसन्धान अघि बढाउने तयारी गरिरहेको डिएसपी गौतमले बताए ।

भारत रुद्रपुर पुगेर रातारात भागेर आएका विजय र भाग्य । विजयका दाजु सोम भने मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024