काठमाडौं महानगरले युवालाई उद्यमशील बनाउन तालीम दिने

17 December, 2019

काठमाडौं महानगरपालिकाले युवालाई उद्यमशील बनाउन सीपमुलक तालीम दिने भएको छ।संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा महानगरले रोजगारी वृद्धिका लागि कार्यक्रम लागू गर्न लागेको हो।

महानगरका मेयर विद्यासुन्दर शाक्य र युएनडिपिका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच आइतबार सीपमुलक कार्यक्रम सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

युवालाई सीप सिकाएर उद्यमशील बनाउन कार्यक्रम लागू गर्न लागेको मेयर शाक्यले जानकारी दिए।

‘काम खोज्दै युवाहरू विदेश जानु नपरोस् भनेर विभिन्न सीप सिकाउँछौं,’ उनले भने, ‘सोच भएर पनि अलमलमा परेका सहरी युवालाई महानगरले बाटो देखाउँछ।’

यो कार्यक्रमपछि विदेश जाने युवा घट्ने सहरी योजना आयोगका सदस्य कीर्तिकुसुम जोशीले बताए।

पहिले सहभागी युवा छनौट प्रक्रिया अघि बढाइने उनले जानकारी दिए। युवालाई व्यापार अनुसन्धान, लगानीको क्षेत्र र जोखिम, एकल र संयुक्त लगानीजस्ता विषयमा तालिम दिने महानगरले जनाएको छ।

व्यापार प्रबर्धन र सञ्जालीकरण, व्यापारिक कोण, व्यापार गर्दा अबलम्बन गर्नुपर्ने कर सम्बन्धी जानकारी, व्यापारमा प्रबिधिको प्रयोग, व्यापारिक कार्यमा प्राप्त हुने अनुदान रकम र यसको व्यवस्थापन जस्ता विषयमा समेत तालिम दिइनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026