कतारी रोजगारदाताले राख्छन् ४९ प्रतिशत नेपालीको पासपोर्ट

27 December, 2023

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मध्येको एक कतारमा नेपालीहरू बाध्यकारी श्रममा रहेको देखिएको छ। अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (आइटियुसी) ले कतारमा गरेको अध्ययनले यस्तो देखाएको हो।

कतारमा काम गरिरहेका ३४५ जना नेपालीसँग गरिएको कुराकानीमा आधारित उक्त अध्ययनले ९९ प्रतिशत नेपाली श्रमिक भर्ना शुल्क तिरेर काम गर्न पुगेको देखाएको छ।

अध्ययन अनुसार एक प्रतिशतले मात्र आफूले रोजगारी प्राप्त गर्न कुनै शुल्क तिर्नु नपरेको बताएका छन्।अध्ययनले ४९ प्रतिशत नेपाली श्रमिकको पासपोर्ट रोजगारदाताले नै राखेको पनि देखिएको छ। कतारले श्रमिकको पासपोर्ट रोजगारदाताले राख्न नपाउने कानुनी व्यवस्था छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले श्रमिकको पासपोर्ट रोजगारदाताले राख्नुलाई बाध्यकारी श्रमका रूपमा परिभाषित गरेको छ। तर कतारी रोजगारदाताहरूले कानूनविपरित पोसपोर्ट राखेको देखिएको हो।

त्यस्तै ४८ प्रतिशत व्यक्तिले रोजगारीका बारेमा एजेन्टमार्फत् जानकारी पाएको अध्ययनले देखाएको छ। नेपाल सरकारले केही नेपाल ऐन संशोधन, २०७५ मार्फत वैदेशिक रोजगार ऐनमा भएको एजेन्ट सम्बन्धी व्यवस्था हटाइ सकेको छ। ऐनमा हटे पनि व्यवहारमा भने एजेन्टमार्फत् नै श्रमिकहरू गइरहेको देखिएको हो।

३४५ जना मध्ये २२ प्रतिशतले आफन्तमार्फत् तथा २१ प्रतिशतले साथीमार्फत् कतारको रोजगारी बारे जानकारी पाएको बताएका थिए। एक प्रतिशतले मात्र आफूले सिधै म्यानपावर कम्पनीबाट रोजगारीका बारेमा जानकारी पाएको बताएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024