कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

16 April, 2019

आश गुरुङ

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो ।

लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराति १२ बजेतिर मृत्यु भएको हो। राति आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा मृत्यु भएको हो।’अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेछन्। तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स बोलाएछ। ढुकढुकी चलिरहेको थियो भन्छन् साथीहरु,’ उनले भने, ‘डाक्टरले साढे १ घण्टाजति उपचार गर्ने प्रयास गरेपनि बचाउन सकिएन भन्ने खबर आयो।’ लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाका अनुसार दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ। दवाडी अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत थिए। शवलाई नेपाल पठाउने तयारी गरिएको अध्यक्ष नखोलाले बताए।

 

उनका अनुसार कम्पनीले एचआर म्यानेजर फिलिपिनो नागरिक रुवानलाई शव लिएर पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ। मृतकको परिवारलाई नियमसंगतको बीमा रकम पनि पठाइने पनि कम्पनीले जनाएको अध्यक्ष नखोलाले बताए। स्थानीयका अनुसार दवाडी पछिल्लो समय ३ महिनाअघि बुवा गिरीधारी दवाडीको निधनपछि घर आएर फर्केका थिए। ६ महिनाअघिमात्रै आमा अम्बी दवाडीको निधनपछि उनी घर आएर फर्किएका थिए।

 

आमाबुवाको ३ महिनाको फरकमा निधन भएपछि उनी तनावमा थिए। गण्डकी प्रदेशका सांसद समेत रहेका स्थानीय धनञ्जय दवाडीका अनुसार इन्द्रको निधनले गाउँ शोकमा डुबेको छ। घरमा मृतक दवाडीका पत्नी उमा, छोरीहरु १३ वर्षीया इना, ७ वर्षीया युनिका दवाडी र ५ वर्षीय छोरा युकेश दवाडी छन्। उनका भाइ वेदप्रसाद दवाडी र बुहारी अनिता दवाडी छन्। पारिवारिक स्थिति कमजोर रहेको सांसद दवाडीले बताए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024