कतारमा सिके सीप, बनाउँछन् ४ सय थरी सुगन्धका पर्फ्युम

25 August, 2025

सन्जिब बगाले

सन् २००६ मा गोरखाका पीर मोहम्मद काठमाडौंको निजी स्कुलमा पढाउँदै थिए। स्नातक पनि पढ्दै गरेका मोहम्मद त्यही वर्ष रोजगारीका लागि कतार गए।

कतारमा उनले केही समय कपडा पसलमा काम गरे। त्यसपछि अत्तर (पर्फ्युम) उद्योगमा काम पाए।

‘म सानैदेखि पर्फ्युमको पारखी थिएँ। कलेज पढ्दा पनि सानो अत्तरको बट्टा गोजीमा राखेर हिँड्थेँ,’ उनले भने, ‘मलाई भाग्यले साथ दियो, मैले पर्फ्युम उद्योगमै काम पाएँ। त्यसयता अहिलेसम्म यही क्षेत्रमा छु।’

त्यहाँ झन्डै तीन वर्ष काम गरेपछि पर्फ्युम उद्योगका सञ्चालकसँग मिलेर उनी आफै लगानीकर्ता बने। एकातिर कम्पनीको सञ्चालक, अर्कातिर सबै जिम्मेवारी भएपछि उनले थप अवसर पाउँदै गए।

उनी विभिन्न खालका तालिम र अनुसन्धानमा सहभागी भए। अत्तर र यसको उद्योगबार थप जानकारी हुँदै गयो।

‘सन् २०१० देखि म र मेरो भाइ मिलेर आफ्नै ब्रान्ड सुरू गर्‍यौं। त्यो बेला कतारकै स्थानीय भाषामा नाम राखेर सुरू गर्‍यौं,’ मोहम्मदले भने, ‘सन् २०२१ देखि भने नेपालमा पनि सुरू गरेँ। तीन वर्षअघि कतारको काम सबै जिम्मा भाइलाई लगाएर म नेपालको मात्र काम हेरिरहेको छु।’

मोहम्मद अहिले ‘आश्मा पर्फ्युम एन्ड कस्मेटिक्स’ उद्योग ललितपुरस्थित आफ्नै घरमा चलाइरहेका छन्। यहाँ परिवारका सदस्यसहित १० जना काम गर्छन्।

यो उद्योगबाट हाल ‘आश्मा’, ‘गोर्खाली’, ‘क्याप्टेन’, ‘सियाज’, ‘मिस्का’, ‘वान्टेड’ लगायत नौ वटा ब्रान्डमा पर्फ्युम उत्पादन भइरहेको छ।

‘मेरी छोरीको नाम आश्मा र घर गोरखा भएकाले मलाई यी दुई ब्रान्डको मोह अलि धेरै छ,’ उनले भने, ‘सुरूआती समयमा १० वटा फ्लेभर (सुगन्ध) का पर्फ्युम थिए। अहिले चार सय वटाभन्दा बढी फ्लेभर बनाउँछौं।’

यी पर्फ्युम काठमाडौंको बानेश्वरमा रहेको आइप्लेक्स मलमा रहेको एउटा र ललितपुरको लबिम मलमा रहेका दुइटा ‘आश्मा पर्फ्युम’ का शोरूममा किन्न पाइन्छ।

ग्राहकको माग अनुसार पनि पर्फ्युम बनाउन सकिने उनले बताए।

उनी पर्फ्युमका लागि चाहिने कच्चा पदार्थ युरोपबाट ल्याउँछन्। गुणस्तरमा कुनै सम्झौता नगर्ने उनले दाबी गरे। पर्फ्युम बनाउने काममा उनी आफै खट्छन् र आफ्नै निर्देशनका आधारमा काम हुने उनले बताए।

आफै खटेकै कारण मूल्य किफायती र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको राख्न सकेको उनी बताउँछन्।

‘कतारको बजारमा काम गरेकाले गुणस्तरमा सचेत छु। अन्तर्राष्ट्रिय बजार समेत बुझेको छु। अब चाहिँ स्वदेशमै स्थापित हुन खोजिरहेको हुँ,’ उनले भने, ‘विदेशबाट आउनेले र विदेश पठाउनेले समेत हाम्रो पर्फ्युम रूचाएका छन्। सुरूका दुई वर्ष अलि कठिन थिए। अब बिस्तारै अगाडि बढ्ला।’

उनले हाल निर्यातको भने योजना बनाएका छैनन्। आफ्नो ब्रान्ड देशभरि फैलाएर माग पूरा गर्न सकेपछि मात्रै निर्यात गर्ने उनी बताउँछन्।

मोहम्मदको परिवार गोरखाबाट व्यवसाय गर्न नुवाकोट पुगेको थियो। परिवार फेन्सी र कस्मेटिक पसल चलाउँथ्यो। सानैदेखि पसलमा बसेकाले मोहम्मदलाई कतारमा पनि मार्केटिङको काम गर्न सजिलो भएको थियो। अहिले पर्फ्युम व्यवसायमा पनि काम गर्न सहज भएको उनले बताए।

कतारमा काम गरेर आएका उनलाई व्यवसाय गर्न नेपालमै सजिलो लागेको छ। सुरूआती केही समय कुरा नबुझुञ्जेल कठिन भए पनि यहाँको वातावरणमा भिज्दै गएपछि धेरै सहज भएको उनले बताए।

‘कतारको बजार ठूलो भए पनि आफ्नै देशमा काम गर्दा सबैले माया गर्छन्। आफ्नै बजारमा केही गर्दाको फाइदा र सन्तुष्टि छुट्टै हुने रहेछ,’ मोहम्मदले भने, ‘विदेश जानुपर्छ। तर सीप सिकेर, यता ल्याएर सदुपयोग गर्नुपर्छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024