कतारमा नेपालीलाई पौने ३ करोड क्षतिपूर्ति

1 October, 2019

होम कार्की

झन्डै ५ वर्षअगाडि कतारमा दुर्घटना भई हिँड्डुल गर्न र स्पष्ट बोल्न नसक्ने भएका दाङका २६ वर्षीय युवकले क्षतिपूर्तिबापत ९ लाख रियाल (झन्डै २ करोड ७० लाख रुपैयाँ) पाएका छन् । कतारमा नेपाली कामदारले पाएको क्षतिपूर्ति अहिलेसम्मकै बढी हो।कतारको श्रम कानुनअनुसार कामदारको ज्यान गए र शतप्रतिशत अशक्त भएमा २ लाख रियाल (६० लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ। ती युवकको विशेष अवस्था रहेको भन्दै झन्डै ५ सय प्रतिशत बिमाको रकम दिलाइएको हो। ५ वर्षदेखिको उपचार खर्च पनि कम्पनीकै जिम्मेवारीमा परेको छ।

कतारस्थित नेपाली दूतावासले पीडित परिवारले पाउने गरी असार २९ गते नै परराष्ट्र मन्त्रालयमा क्षतिपूर्ति रकम पठाइसकेको छ। कतारमा काम थालेको दुई वर्षपछि ९ अप्रिल २०१४ मा उनी सनैयामा सडक दुर्घटनामा परी कोमामा गएका थिए। उनी ३१ मे २०१२ मा कुकको काम गर्न कतार पुगेका थिए। उनको अपांगतासम्बन्धी अन्तिम स्वास्थ्य रिपोर्ट तयार भइनसकेकाले स्वदेश नपठाएको दूतावासले जनाएको छ। उनी अमनहाउस पुनःस्थापना केन्द्रमा उपचाररत छन्। झन्डै ३ वर्ष पूर्णरूपमा कोमामा गएका उनी ह्विलचियरमा बस्न र अस्पष्ट वार्तालाप गर्न सक्ने अवस्थामा छन्।

पछिल्लो समय उनको स्वास्थ्यमा सुधार देखिएको हो। दूतावासले नेपाल फर्केपछि निरन्तर अनुगमनका लागि मात्रै अस्पताल जानुपर्ने अवस्था रहेको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको छ। उनलाई नेपाल ल्याएपछि वैदेशिक रोजगार कल्याणकारी कोष र म्यादी जीवन बिमाबापत थप क्षतिपूर्ति पाउने कानुनी प्रावधान छ। कतारको अस्पातलले उपचारपछि दिने अन्तिम स्वास्थ्य प्रतिवेदनका आधारमा क्षतिपूर्ति पाउने स्थिति छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026