कतारबाट स्वदेश फर्कन खोज्ने नेपालीले पर्यटक भिसा लिनुपर्ने

16 March, 2026

कतारबाट स्वदेश फर्कन खोज्ने नेपालीलाई पर्यटक भिसाको लागि आवेदन दिन कतारस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

दूतावासले आज सूचना जारी गरेर मध्यपूर्वको वर्तमान परिस्थितीमा साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नागरिकलाई पर्यटक भिसाको लागि आवेदन दिन अनुरोध गरेको हो।

दूतावासका अनुसार कतारमा बसोबास गर्ने नेपालीहरूले साउदी अरेबियाका विमानस्थल प्रयोग गरेर नेपाल यात्रा गर्नुपर्ने अवस्था आएमा दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिनुपर्नेछ। भिसा आवेदनका लागि अनलाइनमार्फत पहिले नै ‘अपोइन्टमेन्ट’ बुक गर्नुपर्ने दूतावासले जनाएको छ।

उक्त भिसा सेवा केन्द्र दोहाको अल घराफा क्षेत्रमा रहेको एजदान मलमा सञ्चालनमा छ। त्यहाँबाट साउदी अरबको पर्यटक भिसा प्रक्रिया सम्पन्न गर्न सकिने दूतावासले स्पष्ट पारेको छ।

दूतावासले थप जानकारी आवश्यक परेमा सम्बन्धित भिसा सेवा केन्द्रमा सिधै सम्पर्क गर्न पनि आग्रह गरेको छ। आवेदन प्रक्रिया, समय र आवश्यक कागजातबारे बुझ्न आवेदकहरूले सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

कतारमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। क्षेत्रीय अवस्थाका कारण अन्तर्राष्ट्रिय उडान र ट्रान्जिट नियमहरूमा परिवर्तन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै दूतावासले यस्तो आग्रह गरेको हो।

दूतावासले यात्रुहरूलाई आधिकारिक सूचना र आवश्यक प्रक्रिया पालना गरेर मात्रै यात्रा योजना बनाउन समेत सुझाव दिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024