ओमानमा आजदेखि नेपाली कामदार जान नपाउने

17 March, 2020

३ चैत, ओमान । करीब २० हजार नेपालीहरु कार्यरत रहेको ओमानमा यहाँको सरकारले आज ( सोमबार) राति १२ बजेदेखि नेपालीहरुको आगमनमा रोक लगाउने निर्णय गरेको छ ।

कोरोनाको संक्रमणबाट सतर्कता अपनाउनका लागि भन्दै ओमान सरकारले मार्च १७ देखि विदेशीहरुको आगामनमा रोक लगाउने निर्णय गरेको हो । यो रोक खाडी मुलुकका नागरिकका लागि भने लागू नहुने ओमान सरकारले स्पष्ट पारेको छ । ओमान जान चाहने नेपालीहरु भने यसबाट प्रभावित हुनेछन् ।

हुन त नेपाल सरकारले यसअघि नै विदेश जाने कामदारहरु श्रम स्वीकृति रोकिसकेको छ । अब नेपालले श्रम स्वीकृति खुल्ला गरे पनि ओमान सरकारले आफ्नो नीति परिवर्तन नगर्दासम्म नेपाली कामदारको प्रवेश खुल्ला हुने छैन ।

ओमानमा हाल करीब २० हजार नेपाली कार्यरत छन् । दैनिक कति नेपालीहरु नेपालमा आवत–जावत गर्छन् भन्ने यकिन तथ्यांक नभएता पनि अब नेपालीहरु अर्को निर्णय नहुँदासम्मका लागि ओमान आउन पाउँदैनन् । ओमानबाट नेपाल फर्कन भने पाउँछन् ।

‘अहिलेसम्म ओमानबाट नेपाल फर्कन कसैलाई पनि रोकिएको छैन । तर, मार्च १७ तारेखबाट खाडी मुलुकका बाहेक नेपालीलगायत सबै विदेशी नागरिकलाई ओमान प्रवेशमा रोक लगाइएको छ’ ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘समग्र ओमानमा अहिलेसम्म कोरोना संक्रमणको त्रास खासै छैन । तर, डब्ल्युएचओले नै महामारी घोषणा गरिसकेकाले ‌ओमान सरकारले थप सजगता अपनाएको छ ।’

खाडी मुलुकका राजदूत मिलेर सामूहिक योजना बनाउन आवश्यक : राजदूत पराजुली

लाखौं नेपालीहरु कार्यरत खाडी मुलुकमा रहेका नेपाली राजदूतावासहरुले यहाँका नेपाली नागरिकको सुरक्षाका लागि सामुहिक योजना बनाएर नेपाल सरकारलाई सहयोग गर्नुपर्ने राजदूत पराजुलीको सुझाव छ ।

ओमानमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि यहाँको दूतावासले के गरिरहेको छ र नेपाल सरकारलाई यहाँको सुझाव के छ भन्ने अनलाइननखबरको प्रश्नमा राजदूत पराजुलीले भनिन् ‘मैले ओमानमा रहेका नेपालीहरूलाई समस्या पर्दा के गर्ने भनेर योजना बनाइरहकेकी छु । अब उच्चस्तरीय समन्वय समितिले खाडी क्षेत्रमा कार्यरत सबै देशका राजदूतहरूबाट ठोस योजनाको माग गरी सोहीअनुसार तयारी गर्नुपर्ने देखिन्छ ।’

ओमानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाली दूतावासले उनीहरूसँग सम्पर्कमा रहेर घटनाको विकासलाई नजिकबाट नियालिरहेको राजदूत पराजुलीले बताइन् । दूतावासले विभिन्न आधिकारिक सूचनाहरू आदान–प्रदान गर्ने कार्यहरू गरिरहेको र नेपाल सरकारसँग आवश्यक समन्वय गरी समस्या पर्दा के कसरी सहयोग गर्न सकिन्छ भनेर तयारीहरू गरिरहेको उनले बताइन् ।

ओमानमा कार्यरत नेपालीहरुलाई लक्षित गर्दै राजदूत पराजुलीले भनिन्, ‘जो जहाँ भए पनि आवश्यक सचेत हुन सबैमा अनुरोध गर्दछु ।’

साथै, उनले आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान पनि आग्रह गरिन् । नियमित शारीरिक व्यायाम गर्ने, ध्यान गर्ने र स्वस्थ जीवनशैली अवलम्वन गरेर अनावश्यक तनाबबाट मुक्त हुन सकिने उनले सुझाइन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024