एनओसी खुला

27 Aug, 2020

रुबी रौनियार 

सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि  नो अब्जेक्सन लेटर (एनओसी) दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक संस्थाहरूबाट उच्च शिक्षा अध्ययन स्वीकृति लिएर बसेका विद्यार्थीका लागि एनओसी दिएर अध्ययनको बाटो खुला गरेको हो। उक्त निर्णयले करिब ३५ हजार नेपाली विद्यार्थी लाभान्वित हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। 

शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अधिकारबाट वञ्चित नगर्न एनओसी खोल्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताए । 

‘मन्त्रिपरिषद्ले एनओसी खोल्ने निर्णय गरेर विदेशका विभिन्न विश्वविद्यालयबाट अध्ययन स्वीकृतिपत्र लिएर बसेका विद्यार्थीको अध्ययनको बाटो खोलिदियो,’ उनले भने, ‘अब विद्यार्थी कम्तीमा एनओसीका आधारमा आआफ्नो कलेजमा भर्ना हुन पाउनेछन्।’ कोरोना संक्रमणको बढ्दो जोखिमका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच महिनादेखि एनओसी रोकेको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एनओसी  जारी गरिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए।

शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले मन्त्रिपरिषद्को निर्णयपछि अब मन्त्रालयले अनलाइनमार्फत नयाँ विद्यार्थीका लागि एनओसी फाराम लिने व्यवस्था गर्ने बताए। ‘विद्यार्थीले अनलाइनमार्फत अपलोड गरेका कागजात वैदेशिक अध्ययन शाखाले रुजु गर्ने व्यवस्था मन्त्रालयले गरेको छ,’ सहसचिव सापकोटाले नागरिकसँग भने, ‘सबै कागजात सही भए प्रमाणीकरण हुन्छ। त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट विद्यार्थीले दुई हजार रूपैयाँ तिरेर सक्कल कागजातको प्रमाणित प्रतिलिपि लिएर मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा आउनुपर्छ।’ कागजात सही भए मन्त्रालयले एनओसी जारी गर्ने उनले बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024