एनआरएन साउदीद्वारा ५७ हजार नेपाली लाभान्वित

24 July, 2025

विष्णु घिमिरे

साउदी : गैरआवासीय नेपाली संघ (एनआरएन)को दसौँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित विभिन्न शिविरबाट ५७ हजार नेपाली लाभान्वित भएका छन्। संघको २०२३/२०२५ को कार्यकालमा सञ्चालित ३७ वटा राहदानी, २ वटा स्वास्थ्य शिविरसहित विभिन्न राहत तथा सहजीकरणमार्फत ५७ हजार ४ सय १८ जनाभन्दा बढी प्रवासी नेपाली श्रमिकहरू लाभान्वित भएका हुन्।

साउदी रियाल र नेपाली रुपैयाँ गरी कुल २४ लाख ८९ हजार १ सय २९ नेपाली रुपैयाँ बराबरको राहत तथा आर्थिक सहयोग गरिएको संघले जनाएको छ।

आर्थिक प्रतिवेदन अनुसार रविना अर्याल नेतृत्वको संघले २ वर्षे कार्यकालमा साउदी अरबको विभिन्न सहरहरूमा नेपाली राजदूतावास रियाद र महावाणिज्य दूतावास जेद्धाको सहकार्यमा सञ्चालित राहदानी शिविर सञ्चालनमा ५१ हजार ६ सय ३० साउदी रियाल खर्च गरिएको र २०२३/२०२५ कार्यकालको अवधिमा विभिन्न स्रोत र दाताहरूबाट सङ्कलित कुल ३ लाख १३ हजार ६ सय ४७ साउदी रियालको कारोबार गरिएको जानकारी दिइएको छ।

यसैबीच संघको दसौँ राष्ट्रिय महाधिवेशन भएको छ। कार्यक्रममा संघले गरेका थप कार्यविधिको विवरण सार्वजनिक गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथि राजदूत नरेश विक्रम ढकालले संस्थाले गरेका गतिविधि र नेपाली श्रमिक समस्या समाधानका लागि देखाएका चासोप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि संस्थाप्रति नेपाली श्रमिकको हक हितका लागि नेपाली दूतावास सदैव सहकार्यमा सहयोग गर्ने बताए।

निवर्तमान अध्यक्ष रविना अर्यालले आफ्नो कार्यकालमा संस्थालाई गरेको भरोसा सहयोग प्रति नेपाली समुदाय, दूतावास परिवार र साउदीमा रहेका एनआरएन टिमलाई धन्यवाद व्यक्त गरिन्। उनले आगामी दिनमा पनि संस्थाका लागि सदैव सहयोग गर्ने बताइन्।

कार्यक्रममा शुभकामना दिने संस्थाका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई बधाई शुभकामना दिँदै आगामी दिनमा संस्थाको उन्नति प्रगतिको कामना समेत गरेका थिए।

कार्यक्रमलाई थप सफलता र मनोरञ्जन प्रदान गर्नका लागि नेपालबाट आमन्त्रित सेलो गायिका जितु लोप्चनको दमदार सांस्कृतिक प्रस्तुति रहेको थियो।

यस्तै नवनिर्वाचित अध्यक्ष उमेश भट्टराईले आफू नेतृत्व संस्थाले थप नेपाली श्रमिकका समस्यालाई समाधान गर्नमा जोड दिने बताए। उनले नेपाली दूतावास, वाणिज्य दूतावास लगायत साउदीमा रहेका सबै संघ संस्थासँग सहकार्य गर्दै संस्थाको हितमा काम गर्नुको साथै भावी योजनाबारे जानकारी दिएका थिए। अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन समिति, संस्थाका पदाधिकारीहरू, प्रायोजकहरूलाई सम्मान गरिएको थियो। हाला साउदी एनआरएनमा ३१ सयभन्दा बढी सदस्य रहेका छन्।

दशौं अधिवेशनमा आईसिसी सदस्य राम बहादुर क्षेत्रीको संयोजकत्व र सदस्यद्वय भीम गुरुङ र दिनेश नेउपाने रहेको निर्वाचन समितिले २०२५/२०२७ कार्यकालका लागि निर्विरोध कार्यसमितिको घोषणा समेत गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024