उत्तराखण्डका गुफामा भेटिए दुई नेपाली मजदुर

7 Apr, 2020

 युनिक श्रेष्ठ

नेपाली मजदुर बसेको उत्तराखण्डको गुफा र उनीहरूको उद्धार गर्दै प्रहरी। तस्बिर सौजन्य : उत्तराखण्ड प्रहरी।नेपाली मजदुर बसेको उत्तराखण्डको गुफा र उनीहरूको उद्धार गर्दै प्रहरी। तस्बिर सौजन्य : उत्तराखण्ड प्रहरी। 

लकडाउनले घर आउन नपाएपछि दुई नेपाली मजदुर भारतको उत्तराखण्डमा गुफाभित्र बसेका छन्। 

भारतीय प्रहरीले उत्तराखण्डको लक्ष्मणजुलामा बाँकेका प्रकाश शाही र सुर्खेतका मनबहादुर थापालाई गुफामा बसिरहेको अवस्थामा फेला पारेको छ। 

लक्षमणजुलास्थित नीलकण्ठ चौकीबाट गएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई भेटाएको हो। 

चौकीका इन्चार्ज सब-इन्स्पेक्टर रणवीर रमोलाको टोलीले गरिबहरूलाई राहत वितरण गरिरहेको थियो।सोही क्रममा उनीहरू पनि खाना माग्दै आएको रमोलाले सेतोपाटीलाई बताए। 

‘खाना खोज्दै आइरहेका थिए। बुझ्दा उनीहरू नेपाली मजदुर हुन् भन्ने खुल्यो,’ रमोलाले टेलिफोनमा भने, ‘तीन-चार दिनदेखि उनीहरू गुफामा बसिरहेका रहेछन्।’ 

रमोलाका अनुसार  उनीहरूले यसअघि अन्य ठाउँमै काम गरिरहेको तर लकडाउनले काम नपाएपछि गुफामा बसेको बताएका छन्। 

‘अहिले उनीहरूलाई सेल्टर होममा पठाउन लागिरहेको छ,’ उनले भने।

लकडाउनपछि नेपाल फर्किन खोजेका कैयौं नेपालीहरूलाई भारतका विभिन्न नाकामा शिविर बनाएर राखिएको छ। 

करिब २ हजार १ सय ४७ नेपालीहरूलाई भारत सरकारसँग समन्वय गरी उतै क्वारेन्टिनमा राखेको प्रधानमन्त्री केपी शर्मा ओलीले आजै जानकारी दिएका छन्। 

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही अवधिपछि स्वास्थ्य परीक्षण गरेरमात्रै उनीहरूलाई नेपाल फर्काउने बताए।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024