काठमाडौँ — रुस र युक्रेन युद्ध सेलाउन नपाउँदै इरान–इजरायलबीच बढिरहेको द्वन्द्वले पछिल्लो समय विश्व व्यापार तरंगित बनेको छ । इजरायलले इरानका परमाणु केन्द्रहरूमा हमला गरेको खबर सार्वजनिक भएलगत्तै कच्चा तेलको मूल्य बढेको छ, बढ्ने क्रम रोकिएको छैन ।
विश्व बजारसँगै नेपाली बजारमा समेत त्यसको प्रत्यक्ष प्रभाव परिरहेको जानकार बताउँछन् । युद्ध तत्काल नरोकिए नेपालको वैदेशिक सहायता, रेमिट्यान्सदेखि रोजगारीमा समेत प्रभाव पर्ने उनीहरूको भनाइ छ ।
इरान र इजरायलबीचको युद्धले वैदेशिक व्यापारमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने पूर्ववाणिज्य सहसचिव रवि सैंजुले जनाए । ‘इरानसँग नेपालमा व्यापार त्यति छैन । तर इजरायलबाट अर्बौं रुपैयाँका विभिन्न वस्तु आयात हुन्छन्, निर्यात भने करोडमा हुन्छ,’ सैंजुले भने, ‘युद्ध चर्किंदै गए अमेरिका र युरोपमा हुने आयात–निर्यातमा पनि समस्या उत्पन्न हुन्छ ।’
अमेरिका र युरोपबाट जलमार्ग ‘रेड सी’ भएर वस्तु आयात हुने गरेको सैंजुले जनाए । इरान र इजरायलबीचको युद्धले ‘रेड सी’ को बाटोमा समस्या आए अफ्रिका घुमेर सामान ल्याउनुपर्छ । ‘आयात गर्ने बाटो लामो हुन्छ, त्यसले सामानको लागत बढाउँछ । आयात मात्र होइन, निर्यातमा पनि समस्या हुन्छ,’ उनले भने, ‘समग्रमा भन्दा महँगी र लागत खर्च बढ्ने देखिन्छ ।’
इरानसँगको वार्षिक व्यापार करोडमा रहेको भन्सार विभागको तथ्यांक छ । तर इजरायलसँग अर्बौं रुपैयाँको कारोबार भइरहेको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा इजरायलबाट १ अर्ब १५ करोड ६३ लाख ८८ हजार रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने ५ करोड ४९ लाख १८ हजार रुपैयाँको भएको छ । गत आर्थिक वर्षभर इजरायलबाट १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँको वस्तु आयात भएको थियो । निर्यात भने ४ करोड २२ लाखको भएको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा इरानबाट ६ करोड ७० लाख ६५ हजार रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने ८५ लाख ९३ हजार रुपैयाँको मात्रै रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षमा २ करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु आयात भएको थियो । उक्त वर्ष इरानमा ४० लाख ८८ हजार रुपैयाँको मात्रै निर्यात भएको थियो ।
विशेषगरी इजरायलबाट सफ्ट ड्रिंक्स, चस्मालगायत अन्य मेडिकल सामग्रीहरू आयात गरिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सफ्ट ड्रिंक्स मात्रै ८३ करोड १५ लाख रुपैयाँको वस्तु आयात गरिएको छ । नेपालबाट इजरायलमा जर्दा, खैनी, गलैंचालगायत वस्तु निर्यात भएको छ । ‘इरान र इजरायलसँग धेरै व्यापार नभए पनि अन्य देशसँगको व्यापारलाई समेत त्यसले प्रभाव पर्छ,’ उनले भने, ‘सबैभन्दा असर कच्चा तेल र त्यसबाट हुने मूल्यवृद्धि नै हो ।’ इजरायलले इरानमा हमला गरेपछि कच्चा तेलको मूल्य एकै दिन ८ प्रतिशतसम्म बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बढ्दा त्यसको प्रभाव सबैतिर पर्ने जानकार बताउँछन् ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्छ । भारत आफैंले कच्चा तेल उत्पादन गर्दैन, उसले इरान, रसियालगायत मुलुकबाट कच्चा पदार्थ खरिद गरी प्रशोधन गरेर बिक्री गर्छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पर्ने निगमका अधिकारी बताउँछन् । ‘जुन १ मा निगमले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६४ देखि ६५ डलर थियो । इजरायलले इरानका परमाणु केन्द्रहरूमा हमलाको खबरले एकै दिन मूल्य ८ प्रतिशतसम्म बढ्यो । बुधबार नै प्रतिब्यारेल ब्रेन्टक्रुड ७७.३८ डलरमा कारोबार भइराखेको छ,’ निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘कच्चा तेलको मूल्य बढ्नेबित्तिकै यातायात खर्च बढ्छ । रिफाइन प्रडक्टको मूल्य बढ्छ । समग्र बजारलाई असर पर्छ ।’
विशेष गरी हर्मुजको खाडीलाई लिएर देशहरू चनाखो बनेका छन् । इरानले यो समुद्री मार्ग बन्द गरिदिने चेतावनी दिएको छ । भारतले ८५ प्रतिशत कच्चा तेल त्यही हर्मुजको खाडीस्थित साँघुरो समुद्री मार्गबाट भित्र्याउने गरेको छ । त्यो मार्ग बन्द भए तेलको भाउ अकासिनेछ । इरानमा अमेरिकी प्रतिबन्धका कारण भारतले सिधै इरानबाट तेल किन्दैन । तथापि विश्वव्यापी तेल बजारमा इरान महत्त्वपूर्ण देश हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि आयातमा भने कुनै असर नपर्ने निगमको दाबी छ । ‘बजारको माग पूरा गर्न भारतले महँगोमा भए पनि आयात गर्छ । ओपेक राष्ट्रहरूले माग र आपूर्तिका आधारमा तेलको मूल्य निर्धारण गर्छन्,’ ठाकुरले भने, ‘इरानबाट आयात नभए पनि अन्य मुलुकबाट आउँछ । तर माग र आपूर्तिको सन्तुलन नमिल्दा मूल्य केही बढ्छ ।’ कच्चा तेलको मूल्य बढिरहँदा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्छ । इन्धनको मूल्य बढेसँगै व्यवसायीले ढुवानी भाडा बढाउन चलखेल गर्छन् । ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यलगायत अन्य वस्तुको मूल्य पनि स्वतः बढ्छ ।
अर्थविद् नरबहादुर थापाले पनि इरान–इजरायलबीच चर्किएको युद्धले नेपाललाई प्रत्यक्ष प्रभाव पर्ने बताए । मुख्यतः वैदेशिक रोजगारी, शिक्षासँगै वैदेशिक सहायता रोकिन सक्ने उनको भनाइ छ । ‘पछिल्लो समय इजरायलमा केयर गिभरदेखि शिक्षाका लागि पनि नेपाली पुगेका छन् । कृषिमा इजरायल रोल मोडल नै हो । यस देशमा द्वन्द्व चर्किए नेपाली विद्यार्थी र श्रम स्वीकृत लिएर गएकालाई पक्कै प्रभाव पर्छ,’ उनले भने, ‘युद्धले कच्चा तेलको मूल्य बढ्ने भइहाल्यो ।’
रसियालाई फाइदा हुन नदिन अमेरिकाले मूल्य बढ्न नदिन सक्ने पनि उनको भनाइ छ । अमेरिकासँगै युरोपियन मुलुक पनि समावेश भए नेपालले पाउँदै आएको वैदेशिक सहायता कटौती हुन सक्ने उनले जनाए ।