इरानी आक्रमणमा कुवेतमा एक नेपालीको मृत्यु

31 July, 2026

कुवेतको उत्तरी क्षेत्रमा बिहीबार भएको इरानी आक्रमणमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतको सशस्त्र बल र चिनियाँ दूतावासले चालकका रूपमा त्यहाँ कार्यरत नेपाली नागरिकको मृत्यु भएको सार्वजनिक गरेका छन् । परराष्ट्र मन्त्रालयले पनि एक नेपालीको मृत्यु भएको पुष्टि गर्दै कुवेतस्थित नेपाली दूतावासलाई विस्तृत विवरण पठाउन निर्देशन दिएको जनाएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले नेपालीको मृत्यु भएको समाचार बिहीबार पहिलोपटक प्रकाशित गरेको थियो । उक्त क्षेत्रमा एक चिनियाँ कम्पनीको सहायक ठेकेदार कम्पनीमा चालकका रूपमा कार्यरत नेपाली नागरिकको मृत्यु भएको हो । उनका बारेमा विस्तृत विवरण भने सार्वजनिक भएको छैन । इरानी आक्रमणमा कम्पनीको भौतिक सम्पत्तिमा क्षति पुगेको सिन्ह्वाले लेखेको छ ।

कुवेतस्थित चिनियाँ दूतावासले चिनियाँ कम्पनीद्वारा सञ्चालित आयोजनामा कार्यरत नेपाली नागरिकको ज्यान लिने गरी भएको आक्रमणको कडा भर्त्सना गरेको छ । साथै, दूतावासले शत्रुतापूर्ण गतिविधि तत्काल अन्त्य गर्न र संवादमा फर्कन आह्वान गरेको छ । चिनियाँ दूतावासले यो आक्रमण चिनियाँ कम्पनीको भवनलाई प्रत्यक्ष लक्षित गरी नगरिएको, बरु चिनियाँ फर्मद्वारा कार्यान्वयन भइरहेको आयोजनामा संलग्न कुवेती पेटी ठेकेदारको गाडीमा प्रहार भएको पनि जनाएको छ ।

चिनियाँ दूतावासका अनुसार उक्त घटनामा गाडीका चालक नेपाली नागरिकको मृत्यु भएको हो । चिनियाँ दूतावासले मृतक नेपाली नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘निरपराध नागरिक वा गैरसैन्य लक्ष्यहरूलाई लक्षित गरी गरिने कुनै पनि आक्रमणको निन्दा गरिनुपर्छ भन्ने कुरालाई चिनियाँ पक्ष दोहोर्‍याउँछ,’ चिनियाँ दूतावासले भनेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024