इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने मन्त्रिपरिषद्‍को निर्णय

29 December, 2025

Hom Karki

सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको छ । यसका लागि इराकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार (पुस ११) बसेको मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको हो । परराष्ट्र र कानुन मन्त्रालयको सहमतिमा श्रम मन्त्रालयले इराकमा रहेका नेपालीलाई अभिलेखमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको हो ।

बैठकले इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएको बखत आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको हो । गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारको यो निर्णयले झन्डै ३० हजार नेपाली श्रमिकका लागि नेपाल आउजाऊ गर्न बाटो खुलेको छ । २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । त्यसयता पनि इराकको अमेरिकी वेस क्याम्प, विभिन्न देशका दूतावास, पेट्रोलियम आयोजनादेखि घरेलु श्रमिकको हैसियतमा काम गरिरहेका छन् ।

सरकारले यसअघि २०६७ साउन १२ गते इराकको अमेरिकी वेस क्याम्पमा काम गरिरहेका ४० हजारभन्दा बढी नेपाली कामदारलाई वैध हैसियत दिने निर्णय गरेको थियो । अमेरिकी सेनाको कन्ट्र्याक्ट कमान्ड (सेन्टाम) ले नेपालीलाई बैधता नदिए नेपाल पठाउने भन्दै २० दिनको अल्टिमेटम दिएपछि हजारौं नेपालीको रोजगारीको संकटमा परेको थियो । अमेरिकाले कूटनीतिक च्यानलमार्फत प्रतिबन्ध फुकुवा भए कामदार नफर्काउने संकेत दिएपछि श्रम मन्त्रालयले बैधता दिएको थियो ।

त्यसपछि इराक र यसको स्वशासित राज्य कुर्दिस्थानमा काम गर्ने नेपालीको संख्या बढिरहेको थियो । इराकमा रहेका नेपालीले सरकारसमक्ष आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै आइरहेका थिए ।

१२ वर्षदेखि इराकको सुलेमानीस्थित एक इराकीको घरमा काम गरिरहेकी ताप्लेजुङकी ३५ वर्षीया मिना मगरले प्रतिबन्धले नेपाल आउन नसकिएको बताइन् ।

‘एकचोटी नेपाल गएर आउँदा सेटिङ नै मिलाउन निकै कठिन पर्छ । मलाई सेटिङ मिलाएर यता आउन एक महिना नै लाग्यो । नेपालमा जाँदै–फर्कनलाई मन लाग्छ । बाउआमा भेट्न रहर लाग्छ । बाउ आमा बुढाबूढी भइसकेका छन्,’ उनले इकान्तिपुरसँग भनिन्,‘मलाई यो घर छोड्न मन लाग्दैन । इराकमा सुरक्षा छैन भन्ने गलत हो । मैले आफ्नो दिदीको छोरी ल्याएको छु । नराम्रो भए आफ्नो दिदीको छोरी किन ल्याउँथे ? हामीले यहाँ कमाइराखेका छौं । खाइराखेका छौं । रमाइराखेका छौं । हामीलाई पुगिराखेको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024