इपिएसपीडित युवाको मागप्रति सरकारी बेवास्ता

6 February, 2026

Ajit Adhikari

भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीका लागि कोरिया जानबाट वञ्चित १२ हजारभन्दा बढी युवाको मागलाई बेवास्ता गर्दै इपिएस कोरिया शाखाले नयाँ भाषा परीक्षाको सूचना जारी गरेको छ ।

इपिएस शाखाले आगामी ३ फागुनमा कृषितर्फ रोजगारीका लागि कोरिया जान इच्छुक प्रशिक्षार्थीका लागि कोरियन भाषा परीक्षाको मिति तोकेको हो । ललितपुरको भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा हुनेछ । तर, १८ पुसदेखि इपिएसपीडित युवाको समूहले नयाँ भाषा परीक्षा सञ्चालन नगर्न दबाब दिइरहेका छन् ।

कोरियाली रोजगारीको सपना देखेर बसेका १२ हजारभन्दा बढी युवालाई रोजगारी सुनिश्चित गरेर मात्र नयाँ परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ । ग्वार्कोस्थित इपिएस शाखा कार्यालय, भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र माइतीघर मण्डलामा पालैपालो १८ पुसदेखि धर्ना दिइरहेका खोटाङका अनिश कार्कीले पुराना प्रशिक्षार्थी कोरिया नपठाई नयाँ परीक्षा सञ्चालन गर्न नहुने बताए । ‘पुराना प्रशिक्षार्थी लैजाने ग्यारेन्टी हुनुपर्छ । त्यसपछि मात्रै नयाँ लैजान परीक्षा गर्नुस् भनेर माग राखिरहेका छौँ,’ उनले भने, ‘पुराना नलाने, तर नयाँ थप्दै जाने हो भने कसरी समस्या समाधान हुन्छ ?’

काभ्रेका अर्का युवा हर्क लामाले पनि पुराना प्रशिक्षार्थीको व्यवस्थापन हुनुपर्ने बताए । ‘तीन–चार वर्षदेखि कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेका छौँ, तर पालो आएको छैन,’ उनले भने । इपिएस शाखाले भने कोरियासँगको श्रम सम्झौताअनुसार नै नियमित रूपमा भाषा परीक्षा सञ्चालन भइरहेको जनाएको छ ।

शाखाका सूचना अधिकारी राजकिशोर साहले धेरै युवाको भाषा परीक्षाको समयावधि सकिन लागेकाले नयाँ प्रशिक्षार्थी तयार गर्नुपर्ने अवस्था रहेको बताए । ‘एकपटक भाषा परीक्षा उत्तीर्ण गरेपछि दुई वर्षका लागि मान्य हुन्छ,’ उनले भने, ‘तर, धेरै युवाको समयावधि एक–दुई महिनामै सकिँदै छ । त्यसैले परीक्षा सञ्चालन गर्नु अनिवार्य छ ।’

इपिएसपीडित युवाले भाषा परीक्षाको म्याद सकिए पनि कूटनीतिक पहलमार्फत दुई वर्ष थप गर्नुपर्ने आवाज उठाइरहेका छन् । उनीहरूको मागबारे सियोलस्थित नेपाली दूतावासमा साताअघि कोरियाली अधिकारीसँग छलफल भएको थियो । सो छलफलमा कोरियाली अधिकारीले भाषा परीक्षाको म्याद थप गर्न नसकिने जवाफ दिएका थिए ।

सूचना अधिकारी साहले पनि भाषा परीक्षाको म्याद थप गर्नेबारे ठोस निर्णय नभएकाले नयाँ प्रशिक्षार्थी तयार गर्न लागिएको बताए । ‘३ फागुनका लागि तोकिएको परीक्षा नियमित प्रणालीअन्तर्गत हो । उक्त परीक्षामा उत्तीर्ण भएकालाई सबै प्रक्रिया पूरा गरी रोस्टरमा राख्न ५–६ महिना लाग्छ,’ उनले भने, ‘कोरियाबाटै भाषा परीक्षा गर्न पनि निर्देशन आइसकेकाले हामीले सहजीकरण गरेका हौँ ।

१८ सय माग, ३५ हजार युवा सहभागी हुँदै

कोरियाली रोजगारीको पर्खाइमा १२ हजारभन्दा बढी युवा,तर पुरानाको व्यवस्थापन नगरी ५३ सय थप युवालाई रोस्टरमा समावेश गर्न कोरियन भाषा परीक्षा सञ्चालन हुँदै

सन् २०२५ का लागि कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी, कोरिया)ले नेपालबाट कृषितर्फ १८ सय युवालाई रोजगारी दिने गरी कोटा तोकेको छ । १८ सयभित्र छनोट हुन ३५ हजार दुई सय १८ युवा परीक्षामा सहभागी हुँदै छन् ।

दसैँअघि लिइएको प्रारम्भिक परीक्षामार्फत युवा छनोट भएका हुन् । ललितपुरको भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा हुने भाषा परीक्षामा सहभागी हुनुअघि बायोमेट्रिक पूरा गर्न इपिएस शाखाले सूचना जारी गरेको छ । यो वर्ष कोरियाले उत्पादनतर्फ थप ३५ सय युवा लैजाने गरी कोटा निर्धारण गरेको छ । सो परीक्षा भने फागुन दोस्रो सातातिर सञ्चालन गर्ने इपिएस शाखाको तयारी छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024