इपिएसपीडितको माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धता

22 January, 2026

भाषा परीक्षा उत्तीर्ण गरेका सबैलाई कोरियाको रोजगारी सुनिश्चित हुनुपर्ने युवाहरूको माग सम्बोधन गर्न सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय, ललितपुरमा भएको वार्तामा युवाहरूको मागलाई लिपिबद्ध गरेर सुनुवाइको पहल गर्न सबै संयन्त्र क्रियाशील हुने विषयमा छलफल भएको इपिएस कोरिया शाखाका निर्देशक टीकाराम ढकालले जानकारी दिए ।

‘करिब १५ जना युवा, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाबिच बुधबार दिउँसो प्रारम्भिक वार्ता भएको छ, उक्त वार्तामा युवाको माग सम्बोधनका लागि सबै संयन्त्रको प्रयोग गर्ने विषयमा छलफल भयो,’ ढकालले भने । वार्ता बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको नेतृत्वमा पनि बस्ने निर्णय भएको छ ।

भाषा परीक्षा उत्तीर्ण गरेको दुईवर्षे म्याद सकिन लाग्दासमेत कोरियाको रोजगारी अनिश्चित भएपछि युवाहरूले मंगलबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए । तर, सरकारले वार्तामा बोलाएपछि उनीहरू आन्दोलन छाडेर सरकारी अधिकारीसँग वार्ता थालेका छन् ।

यही जनवरीमा ८ सय ५३ र अर्को महिना फेब्रुअरीमा थप तीन हजार सात सय ९६ युवाको भाषा परीक्षाको म्याद सकिन लागेको छ । उनीहरूले भाषा परीक्षा उत्तीर्ण भएका सबै कोरिया जान पाउनुपर्ने माग राखेर मंगलबार दिउँसो इपिएस शाखा, ग्वार्कोमा धर्ना दिएका थिए ।

एकपटक भाषा परीक्षा उत्तीर्ण भएपछि दुई वर्षका लागि मान्य हुने व्यवस्था छ । तर, करिब दुई वर्षदेखि कोरियाको रोजगारीमा जाने दिन कुरे पनि पालो नआएपछि निराश बनेका युवाहरू आन्दोलित बनेका हुन् । उनीहरूले म्याद सकिन लागेका परीक्षाको मान्य अवधि दुई वर्ष थप गर्नुपर्ने, एकपटक कोरिया गएर पुन: जान लागेका युवाहरूको फाइल तुरुन्त कोरियास्थित रोजगारदाता कम्पनीलाई फरवार्ड गरी प्रक्रिया अघि बढाउनुपर्ने, भाषा परीक्षा पास गरेका सबैको रोजगारी ग्यारेन्टी हुनुपर्नेलगायतका माग राखेका छन् ।

निर्देशक ढकालले युवाहरूको माग सम्बोधनका लागि कोरियासँग कूटनीतिक पहल थालिएको बताए । त्यस्तै, एक प्रतिनिधि टोली कोरिया नै पुगेर समस्या समाधान गर्न लागिएको पनि उनले जानकारी दिए । ‘कोरियाको सम्बन्धित निकायसँग नेपाली टोली आउन लागेकोबारे जानकारी गराइसकेका छौँ । के–के विषयमा छलफल गर्ने भनेर लिखित पत्राचार भएपछि कोरिया जाने टोलीबारे टुंगो लाग्नेछ,’ उनले भने ।

अहिले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका करिब १५ हजार युवाले कोरियामा रोजगारीको सपना देखिरहेका छन् । यीमध्ये उत्पादनतर्फ आठ हजार युवा छन् । त्यस्तै, कृषितर्फ तीन हजार, पानीजहाजतर्फ दुई हजार र पुन: कोरिया जानका लागि करिब दुई हजार युवा लाइनमा रहेको कार्यालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024