इटहरीमा सीप तथा रोजगार मेला : रोजगारदाता र युवालाई एउटै थलोमा जोड्दै

1 October, 2026

Arjun Subedi

स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा रोजगारदाता र कामको खोजीमा रहेका युवालाई प्रत्यक्ष सम्पर्कमा जोड्ने उद्देश्यले इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको सभामुख डोलप्रसाद अर्यालले बुधबार उद्घाटन गरेका छन् । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।

कोशी प्रदेशलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलामा रोजगारी खोजिरहेका युवालाई रोजगारीका अवसरबारे जानकारी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क, सीप विकाससम्बन्धी परामर्श तथा छोटो अवधिका तालिमको अवसर उपलब्ध गराइने आयोजकले जनाएको छ । मेलामा एक सयभन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्था सहभागी छन् ।

त्यस्तै तीन तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीचको सहकार्यमा मेला सञ्चालन गरिएको हो । विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ७५ भन्दा बढी स्टल मेलामा राखिएका छन् । मेलामा पुग्ने युवाले आफूले खोजेको काम, आवश्यक योग्यता, सीप र रोजगारदाताको मागबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

रोजगारदाताले पनि आफूलाई आवश्यक पर्ने जनशक्तिको माग प्रस्तुत गर्नुका साथै सम्भावित उम्मेदवारसँग प्रत्यक्ष भेटघाट, अन्तर्वार्ता तथा छनोट प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयका सचिव दिपक काफ्ले जानकारी दिए । उनका अनुसार मेलाको अवधिमा रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क र सहकार्यको वातावरण बनाइनेछ । रोजगारदाताले आवश्यक जनशक्तिको माग प्रस्तुत गर्ने र सम्भावित उम्मेदवारसँग अन्तर्वार्ता तथा छनोट प्रक्रिया अघि बढाउन सक्नेछन् ।

मेला रोजगारीको सूचना दिने थलोमा मात्र सीमित नराखी सीप विकास र रोजगारको सम्पूर्ण प्रक्रियालाई एउटै ठाउँमा जोड्ने गरी आयोजना गरिएको छ । मेलामा सीप तथा रोजगारीका अवसरबारे जानकारी, रोजगारसम्बन्धी परामर्श सेवा, डिजिटल मार्केटिङ तथा एआईसम्बन्धी सीपमूलक तालिम, नवप्रवर्तन तथा उद्यमशीलता र लामो अवधिका तालिम तथा रेफरल सेवासमेत राखिएको छ ।

मेलामा १० विधाका छोटो अवधिका तालिम सञ्चालन हुनेछन् । एआई तथा डिजिटल मार्केटिङ, खाना तथा बेकरीसम्बन्धी तालिम, कुक तथा बेकरी, सिटी सफारी/ई–भेहिकल मर्मत, एसी मेकानिकलगायत बजारमा उपयोगी सीपसँग सम्बन्धित तालिमलाई प्राथमिकता दिइएको छ ।

मेलामा सहभागी युवाले आफ्नो रुचि, क्षमता र रोजगार बजारको मागअनुसार कुन सीप सिक्दा रोजगारी वा स्वरोजगारीमा जान सकिन्छ भन्नेबारे पनि परामर्श लिन सक्नेछन् । मेलाका गतिविधिलाई दर्ता, मेला अवधि र मेला पश्चात् गरी तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा रोजगारी तथा उद्यमशीलतासँग सम्बन्धित सीप र योग्यता विवरण दर्ता गरिनेछ । रोजगारी खोजिरहेका युवा तथा रोजगारदाताको विवरण संकलन गरी उपयुक्त रोजगारीका अवसरसँग जोड्ने व्यवस्था गरिएको छ ।

दोस्रो चरणमा मेलास्थलमै रोजगारीका अवसर, बजारमा आवश्यक सीप, रोजगारदाताको माग तथा तालिमसम्बन्धी जानकारी उपलब्ध गराइनेछ । यस क्रममा रोजगारी खोज्ने युवाले रोजगारदातासँग प्रत्यक्ष भेट गरी आफ्नो योग्यता र सीप प्रस्तुत गर्न सक्नेछन् । तेस्रो चरणमा भने मागमा आधारित तालिम सञ्चालन, सीपको प्रमाणीकरण, उद्यमशीलता तालिम तथा निरन्तर परामर्श सेवा उपलब्ध गराउने योजना छ । यसले मेलामा सम्पर्क भएका रोजगारदाता र रोजगारी खोज्ने युवाबीचको सम्बन्धलाई मेला सकिएपछि पनि निरन्तरता दिने लक्ष्य राखिएको सचिव काफ्ले बताए ।

मेलाको अवधिमा ‘करिअर उडान संवाद शृंखला’ सहित विभिन्न विषयमा अन्तरक्रिया तथा छलफलसमेत आयोजना हुनेछन् । कार्यक्रममा सार्वजनिक रोजगार सेवा प्रवाहमा सरकार, निजी क्षेत्र र विकास साझेदारको भूमिका, रोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको उपयोग, सामाजिक सुरक्षा तथा सामाजिक सुरक्षामा सरकार, श्रमिक र रोजगारदाताको भूमिका तथा नेपालको श्रम बजार प्रवर्द्धनका लागि सीपयुक्त जनशक्तिको निर्माणजस्ता विषयमा छलफल हुने आयोजकले जनाएको छ । त्यस्तै मेलामा रोजगारदाताका लागि मागमा आधारित तालिम, सीपको प्रमाणीकरण, उद्यमशीलता तालिम र निरन्तर परामर्श सेवा उपलब्ध गराउने कार्यक्रमसमेत राखिएको छ ।

मेलामा सहभागी युवालाई रोजगारीका लागि आवश्यक सीप र योग्यता पहिचान गर्नेदेखि रोजगारदातासँग जोड्ने, तालिम आवश्यक भए तालिममा सहभागी गराउने र उद्यमशीलतामा जान चाहनेलाई आवश्यक परामर्श दिने उद्देश्य राखिएको छ ।

आयोजकले मेलालाई रोजगारी खोज्ने र रोजगार सिर्जना गर्ने दुवै पक्षलाई एउटै थलोमा ल्याउने अवसरका रूपमा अघि सारेको छ । असोज २० गतेसम्म चल्ने मेलाले कोशी प्रदेशका युवालाई रोजगार बजारको मागअनुसारको सीप, रोजगारदाता र तालिम प्रदायक संस्थासँग प्रत्यक्ष जोड्ने लक्ष्य लिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026