इरानसँगको युद्धका बिच इजरायली डिफेन्स फोर्सेस (आइडिएफ)ले जारी गरेको विज्ञप्तिमा जनतालाई सार्वजनिक स्थलमा जानबाट जोगिन, भिडभाडयुक्त ठाउँहरूबाट टाढा रहन र कुनै चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा जान तथा आधिकारिक नयाँ जानकारी नआएसम्म त्यहाँ नै बस्न आग्रह गरिएको छ । र, इजरायलको राष्ट्रिय आपत्कालीन सेवाका अनुसार इरानी आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ र सयभन्दा बढी घाइते भएका छन् ।
आइडिएफ र राष्ट्रिय आपत्कालीन सेवाले जारी गरेका सूचनाले इजरायलका सहरहरूको पछिल्लो भयानक अवस्था देखाउँछ । तीन दिनदेखि जारी युद्धमा इरानले इजरायलको राजधानी जेरुसेलम, तेलअभिभ, हाइफासहित मुख्य रणनीतिक केन्द्रमा मिसाइल आक्रमण केन्द्रित गरेको छ । इजरायली हमलामा इरानले पनि ठुलो क्षति व्यहोरेको छ । यस्तोमा इजरायल र इरानमा रहेका साढे पाँच हजार नेपालीको अवस्था कस्तो छ ?
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताए । ‘इजरायलमा करिब ५५ सय र इरानमा एक दर्जन जति नेपाली हुनुहुन्छ । उहाँहरू हालसम्म सुरक्षित हुनुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।उनका अनुसार परराष्ट्र मन्त्रालय दोहास्थित नेपाली राजदूतावास इरानमा रहेका नेपालीहरूसँग र तेलअभिभस्थित नेपाली राजदूतावास इजरायलमा रहेका नेपालीहरूसँग निकट सम्पर्कमा छ । त्यहाँ रहेका सबै नेपालीलाई सतर्कता अपनाउन भनिएको छ ।
‘इजरायल सरकारले जारी गरेको एड्भाइजरी पालना गर्न हामीले त्यहाँका नेपालीहरूलाई भनेका छौँ । यसैगरी, तेहरानमा पनि नेपालीहरूलाई सुरक्षित रहन भनेका छौँ,’ उनले भने, ‘केही समस्या परेमा सम्बन्धित दूतावासमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ । परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ ।’
इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले युद्धमा नेपालीहरूलाई कुनै क्षति नभएको र सुरक्षित रहेको जनाएको छ । दूतावासका उपप्रमुख कुमारबहादुर श्रेष्ठले इजरायलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।जेरुसेलम र तेलअभिभमा रहेको अस्पतालमा नेपालबाट केयर गिभरअन्तर्गत नर्सिङ तथा घरेल कामदारका रूपमा धेरै महिला कार्यरत रहेका छन् । तर, सो क्षेत्रका घर, भवन तथा अस्पतालमा बलियो बंकर बनाएका कारण मानवीय क्षति धेरै नहुँदा नेपाली पनि सुरक्षित रहेको गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष कृष्ण भण्डारीले बताए । ‘राजधानीलगायत आसपासका सहरहरूमा नेपाली महिला केयर गिभरका रूपमा कार्यरत छन् । यहाँ अस्पताल धेरै छन् र धनाढ्यको बसोबास पनि छ,’ उनले भने, ‘तर, अहिलेसम्म कोही नेपाली खतरामा परेका छैनन् । सबै सुरक्षित छौँ ।’ उनका अनुसार इजरायल नियन्त्रित गाजा क्षेत्रमा समेत केही नेपाली कार्यरत छन् ।
नियोग उपप्रमुख श्रेष्ठले आक्रमण भएका वेला धेरै जोखिम हुने, तर त्यसपछिको एक–डेढ घण्टामा स्थिति सामान्य हुने गरेको बताए । ‘जुन वेला आक्रमण हुन्छ, त्यो वेला अतालिन्छौँ । तर, फेरि स्थिति साम्य भइहाल्छ,’ उनले भने । आइतबार दिनभर शान्त भएको, तर राति आक्रमण हुने चिन्ताले सताएको उनले बताए ।
एनआरएनए इजरायलका अध्यक्ष भण्डारीले पनि आक्रमण भएका वेला धेरै क्षतिको डर हुने भएकाले नेपालीहरू सतर्क हुनुपर्ने बताए । उनका अनुसार जेरुसेलम र तेलअभिभ क्षेत्रमा इरानले एकैपटक सयवटा शक्तिशाली मिसाइल आक्रमण गर्ने गरेको छ । तर, धेरैजसो मिसाइल इजरायलले आकाशमै बिफल पार्ने गरेको छ । ‘१–२ वटा मिसाइल झरे पनि ठुलो क्षति गर्ने गरेको छ,’ उनले भने, ‘हामी नेपालीको अलि लापरबाही गर्ने बानी छ । त्यसैले, अहिले ठुलो युद्ध भएकाले सतर्क रहनु सबैभन्दा ठुलो कदम हो,’ उनले भने ।
त्यसैबिच परराष्ट्र मन्त्रालय र तेलअभिभस्थित नेपाली दूतावासले छुट्टाछुट्टै विज्ञप्ति निकालेर सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । पराराष्ट्रमन्त्री आरजु राणाले दोहा र तेलअभिभस्थित दूतावासमा सम्पर्क गरी वस्तुस्थितिबारे जानकारीसमेत लिएकी छिन् ।
उनले नेपालीहरूको सुरक्षामा उच्च प्राथमिकता दिएर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपले नेपालीहरूलाई प्रवाह गराउन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । इरान र इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित राख्न र उद्धारका लागि आवश्यक कदम चाल्न पनि तयार रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, तेलअभिभस्थित नेपाली दूतावासले सुरक्षा सतर्कताका लागि २४सै घण्टा हटलाइन सुचारु गरेको जनाएको छ ।
इजरायलमै रहेका विराटनगरका मेयर नागेश कोइराला भन्छन्– म सुरक्षित छु, आत्तिनुपर्ने अवस्था छैन
कृषिसम्बन्धी तालिम कार्यक्रममा सहभागी हुन गएका विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला यति वेला इजरायलमै छन् । उनी इजरायलको पराराष्ट्र मन्त्रालयले २६ जेठदेखि आयोजना गरेको बैमौसमी फलपूmलको उत्पादन र हरियाली विकाससँग सम्बन्धित तालिममा सहभागी छन् । नयाँ पत्रिकासँग आइतबार कुराकानी गरेका उनले आफू सुरक्षित रहेको र तालिम पनि चलिरहेको बताए । आफू नेपाली दूतावासको सम्पर्कमा समेत रहेको मेयर कोइरालाले बताए । ‘म अहिले पनि क्लास लिइरहेको छु । यहाँ कुनै आत्तिनुपर्ने अवस्था छैन,’ आइतबार दिउँसो उनले नयाँ पत्रिकासँगको टेलिफोनमा भने, ‘दूतावाससँग मेरो सम्पर्क भइसक्यो । मलाई कुनै समस्या परेको छैन भनेर जानकारी गराएको छु ।’
इजरायलमा करिब ५५ सय र इरानमा १२ नेपाली
कृष्णप्रसाद ढकाल, प्रवक्ता, परराष्ट्र मन्त्रालय
परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ । हालसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ । केही समस्या परेमा सम्बन्धित दूतावासमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५५ सय नेपाली कार्यरत छन् । यसमध्ये केयर गिभरअन्तर्गत १६ सय र साना किसान सहकारीमार्फत कृषि अध्ययनका लागि दुई सय नेपाली इजरायलमा छन् । बाँकी नेपाली भने कानुनी प्रक्रिया पूरा नगरी इजरायल पुगेर काम गरिरहेको दूतावासको दाबी छ । इजरायलले सन् २०१६ देखि केयर गिभरअन्तर्गत कामदार लिन थालेको हो । त्यसयता आकर्षक कमाइको प्रलोभनमा धेरै नेपाली इजरायल पुग्ने गरेका छन् । त्यस्तै, इरानमा १२ नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । त्यसैबिच मध्यपूर्वमा नेपालीको संख्या करिब १५ लाख रहेको अनुमान छ । ‘युद्ध बढेर गयो भने त्यसले मध्यपूर्वलाई असर गर्नेछ र नेपालीलाई पनि अकल्पनीय असर पर्नेछ,’ मध्यपूर्वमा खटिएका एक नेपाली कूटनीतिक अधिकारीले भने, ‘यस सम्बन्धमा पनि नेपाल सरकारले अहिलेदेखि नै एउटा सोच बनाउनु आवश्यक हुन्छ ।’