आफ्नैबाट बेचिन्छन् महिला

6 September, 2019

हिक्मतबहादुर नेपाली

पतिले नै आफूलाई भारत लगेर बेच्लान् भन्ने उनले कल्पनासम्म गरेकी थिइनन्। बिहे गरेर पतिसँगै भारतको बैंग्लोर पुगिन्। त्यहीं छोरा पनि जन्मियो। नाबालक छोरासहित बस्दै आएकी उनको जीवनमा एकदिन कालो बादल मडारियो। त्यो दिन सम्झेर अहिले पनि दैलेखकी पवित्रा (नाम परिवर्तन) भक्कानिन्छिन्। ‘बजार घुम्न गएका बेला श्रीमान्ले छोरालाई लिएर कोठामा जाऊ, म एकैछिनमा आउँछु भन्नुभयो,’ उनले भनिन्, ‘कोठामा पुग्नासाथ अपरिचित मानिसले मेरो मुखमा सेतो पाउडर सुँघाए, त्यसपछि मलाई कहाँ लगे पत्तै भएन।’ जब होस् खुल्यो, अनि मात्र उनले चाल पाइन्। छोरासहित आफूलाई २ लाख २० हजार भारतीय रुपैयाँमा उनकै पतिले बेचेका रहेछन्।

अत्यन्त कठिनताले दैलेखमा रहेका माइतीलाई खबर गरिन्। माइतीले सामाजिक क्षेत्रमा कार्यरत संस्था सोसेकलाई खबर गरे। माइतीले ०७५ जेठ ९ गते मानव बेचबिखन तथा ओसारपसार गरेको भन्दै प्रहरीमा उजुरी हाले। सोसेक र शक्ति समूह काठमाडौंको पहलमा उनको उद्धार भयो। आफ्नै पत्नी र छोरा बेच्ने जिल्लाको भैरवी गाउँपालिका-४ का टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले ३८ वर्ष ६ महिना कैद र ३ लाख २० हजार रुपैयाँ जरिवानाको फैसला सुनायो। मानव बेचबिखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशत हुन आउने साढे ३ वर्ष गरी ३८ वर्ष ६ महिना कैदको फैसला गरेको हो।

दैलेखकै रीता र रमिलालाई (नाम परिवर्तन) गाउँकै आफन्त पुरुषले बेचिने अवस्थामा पुर्‍याए। विभिन्न प्रलोभनमा पारी कपिलवस्तुको कृष्णनगर हुँदै सीमापार लगिँदै गरेको सूचनाका आधारमा दुवैको उद्धार भयो। बेचिनबाट जोगिए। आफन्तले नै महिलाको बेचबिखन गरेका यि दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्। माया प्रेमका जालमा फसाएर, नि :शुल्क विदेश पठाउने लोभ देखाएर यहाँका महिला आफन्तबाटै बेचिने गरेका छन्।

बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठ भन्छिन्, ‘पतिबाट पीडित, घरेलु हिंसामा परेका र गरिब परिवारका महिला बेचबिखनको जोखिममा छन्।’ दलालहरुले गाउँका सोझा महिलालाई सित्तैंमा खाडी मुलुक पठाइदिने सपना देखाएर लोभ्याउने उनी बताउँछिन्। हेल्पलाइनमार्फत बेचबिखन र बेचबिखनको जोखिममा परेका महिलाको उद्धार गर्ने गरेको उनले बताइन्। ‘यहाँबाट बिहे गरेर पति-पत्नी भएरै जान्छन्, पछि पतिले नै बेचेको उजुरी आउँछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले भने।

दैलेख प्रहरीका अनुसार ०७५/७६ मा ९६ महिला, २९ बालक र ३३ जना बालिका हराएका छन्। तीमध्ये ४६ महिला, १७ बालक र २० बालिका फेला परेका थिए। जिल्लाबाट १ सय ४८ जना हराएको उजुरी परेकोमा ६५ जना (४० महिला, १२ बालक र १३ बालिका) अझै फेला परेका छैनन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। अभिभावकले हराएको उजुरी गर्ने तर महिला र बालबालिका भेटिएको खबर दिन नआउने प्रचलनले पनि उनीहरू भेटिए बेपत्ताकै सूचीमा नै रहने गरेको दैलेख प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026