दक्षिण कोरियामा अवैधरूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई लक्षित गर्दै कोरियाली न्याय मन्त्रालयले विशेष स्वेच्छिक प्रस्थान प्रणाली लागू गरेको छ। उक्त व्यवस्था अनुसार २८ फेब्रुअरी २०२६ सम्म स्वेच्छिक रूपमा कोरिया छाड्ने अवैध विदेशीलाई जरिवाना तथा पुनःप्रवेश प्रतिबन्धमा छुट दिइने भएको छ।
कोरियाली सरकारले स्वेच्छिक स्थान प्रणाली लागू गरेपछि सोमबार सिओलस्थित नेपाली राजदूतावास सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।
दूतावासका अनुसार यो सुविधा अवैधरूपमा दक्षिण कोरिया प्रवेश गरेका,नक्कली राहदानी प्रयोग गर्ने,आपराधिक गतिविधिमा संलग्न,डिपोर्टेशन आदेश पालना नगर्ने तथा सन् २०२५ डिसेम्बर १ पछि अवैध बनेका व्यक्तिहरूलाई भने लागू हुने छैन।
स्वेच्छिक रूपमा नेपाल फर्किन चाहने व्यक्तिले आफ्नो राहदानी र हवाई टिकट स्वयं व्यवस्थापन गर्नुपर्नेछ। साथै,बसोबास गरिरहेको स्थान नजिकको अध्यागमन कार्यालयमा फिर्ती मितिभन्दा कम्तीमा ३ कार्यदिनअघि (सार्वजनिक बिदाबाहेक) वा सार्वजनिक बिदासहित कम्तीमा १५ दिनअघि स्वेच्छिक प्रस्थान प्रतिवेदन फारम बुझाउनुपर्ने छ।
अनलाइनमार्फत फारम बुझाएको अवस्थामा प्रस्थान समयभन्दा कम्तीमा ४ घण्टाअघि विमानस्थलस्थित अध्यागमन कार्यालयमा अन्तिम पुष्टि गर्नुपर्ने जनाइएको छ।
नेपाली राजदूतावासले अवैधरूपमा दक्षिण कोरियामा बसोबास गरिरहेका सबै नेपाली नागरिकलाई यो अवसरको सदुपयोग गरी स्वेच्छिक रूपमा नेपाल फर्कन आग्रह गरेको छ। यस सम्बन्धमा थप जानकारीका लागि कोरियाली अध्यागमन सूचना केन्द्रको १३४५ नम्बर मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।