अवैधरुपमा बसेका आप्रवासीमाथि कडाइ गर्दै जापान, थप ५ जना नेपाली निष्काशित

18 February, 2025

काठमाडौं : जापानले समेत अवैधरुपमा बसेका आप्रवासीहरूमाथि थप कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्।

पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप पाँच नेपाली निष्काशितमा परेका छन्। स्रोतका अनुसार निष्काशित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एक/एक जना रहेका छन्।

उनीहरूमध्ये मगर, थापामगर, तामाङ जापानबाट कोरिया ट्रान्जिट हुँदै कोरियन एयरको जहाजबाट जापानले नेपाल फिर्ता पठाएको हो। त्यसैगरी गौचन र चेम्जोङ भारत ट्रान्जिट हुँदै एयर इन्डियाबाट काठमाडौं फिर्ता भएका हुन्। स्रोतका अनुसार गौचन भिसाको अवधि सकिएपछि काम गरिरहेका थिए भने गौचन अवैध ढंगले काम गरिरहेको भेटिएपछि नेपाल फिर्ता पठाएको हो।

उनीहरूले जापानको अध्यागमन कानुन उलंघन गरेको आरोपमा पक्राउ गरेको थियो। उनीहरुमाथि सोधपुछ गरेपछि नेपाल डिपोर्ट गरेको हो। यद्यपि उनीहरूले कुन-कुन कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।

तीन महिनाको अवधिमा त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानले १५ नेपालीलाई निष्काशित गरेको थियो। विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समयमा जापान, अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024