अलपत्र युवा मुम्बईबाट फर्किए

28 September, 2018

भारतमा रोजगारीका लागि गएका सूर्योदय नगरपालिका १३ लक्ष्मीपुरका ३४ वर्षीय इन्द्रमणि ढुंगाना घर फर्किएका छन् । उनलाई मुम्बइस्थित व्यस्त बजारमा ३ महिनाअघि प्रहरीले करिब अचेत अवस्थामा फेला पारेको थियो ।

असार १२ गते प्रहरीले भेटेपछि अर्को दिन नै उनलाई त्यहाँको सिभिल हस्पिटलमा भर्ना गरियो । प्रहरीले उनी नेपाली भएको परिचयपत्र मार्फत पहिचान गर्‍यो । मानसिक रोगले ग्रस्त देखिएपछि उनलाई थाने मेन्टल हस्पिटल पुर्‍यायो । हस्पिटलमा उपचारकै क्रममा प्रहरीले नेपालीहरूका काम गर्ने संघसंस्थाको खोजी गर्‍यो । यही क्रममा भेटियो मनकामना एकता फाउन्डेसन ।

खबर पाउन साथ फाउन्डेसनका सल्लाहकार समितिका अध्यक्ष शालिग्राम तिवारीसहितको टोली हस्पिटल पुग्यो र उनको ठाउँ ठेगाना पत्ता लगायो । बिना आफन्त र शुभेच्छुक बनेका ढुंगानाका लागि फाउन्डेसन नयाँ जीवनका लागि सहारा बन्यो ।

३ महिनासम्म उपचार हुँदा फाउन्डेसनकै पहलमा महाराष्ट्र सरकारले नै सबै खर्च बेहोरिदियो । फाउन्डेसनले उनको ठेगाना पत्ता लगाएपछि इलाम प्रहरीसँग सम्पर्क गर्‍यो । ‘हामीले उनको घरमा सबै कुरा जानकारी गरायौं,’ मुम्बईबाट इलामसम्म ढुंगानालाई लिएर आएका तिवारीले भने, ‘तर घरको आर्थिक अवस्थाका कारण उनलाई जिम्मा लिन कोही पनि पुगेन ।’

त्यसपछि फाउन्डेसनले नै उनलाई सबै प्रक्रिया पुर्‍याएर जिम्मा लियो । मुम्बइको बुर्लाकोट अदालतबाट संस्थाले ढुंगानालाई जिम्मा बुझेपछि घरसम्म आउने व्यवस्था गरेको थियो । मुम्बईमा वर्षौंदेखि काम गर्दै आएका बुटुवलका तिवारी र सन्तोष भट्टराईले यहाँसम्म ल्याएका थिए । करिब २६ सय किलोमिटरको रेल यात्रापछि पशुपतिनगरमा ढुंगानालाई परिवारको जिम्मा लगाइएको थियो ।

‘मुम्बईको प्रहरी र महाराष्ट्र सरकारले ठूलो सहयोग पुर्‍याउँदा उनलाई सकुशल ल्याउन सफल भयौं,’ तिवारीले भने, ‘यस्ता धेरै घटना हुन्छन् जहाँ प्रहरीको नजर पुग्दैन र उद्धार पाउँदैनन् ।’ असारदेखि नै बेपत्ता दाजु ३ महिनापछि फर्केर आउँदा खुसी लागेको भाइ कृष्णले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024