जनकराज सापकोटा
अमेरिका जान भन्दै कागजी प्रक्रिया सुरु गरेका कर्णाली प्रदेशका दुई सांसदले अन्तिम समयसम्म भिसाका लागि प्रयास गरेको पाइएको छ । अमेरिका जाने आसमा रकम फसाएका पीडितले सांसदद्वय अम्बरबहादुर थापा र सीता नेपालीले फागुन २९ गतेसम्मै भिसाका लागि प्रयास गरिरहेको बताएका छन् ।
सांसदद्वयले चैत १६ गते पत्रकार सम्मेलन गर्दै मानव तस्करीको गिरोहले झुक्याएको थाहा पाएपछि फागुन २१ गते नै कार्यक्रममा सहभागी नहुने भन्दै आयोजकलाई जानकारी गराएको बताएका थिए । तर उनीहरूले फागुन २९ गतेसम्मै अमेरिकी दूतावास धाएको र त्यसअघि पनि भिसा अन्तर्वार्ताका लागि काठमाडौंको कन्सल्टेन्सीमा कक्षा लिएको भेटिएको छ । कान्तिपुरलाई प्राप्त तस्बिर र कागजातबाट पनि उनीहरू अन्तिम समयसम्म अमेरिका जाने प्रक्रियामा लागेको पुष्टि हुन्छ । कान्तिपुरले स्रोतबाट प्राप्त गरेको एक तस्बिरमा संसद् नेपाली, सांसद थापाकी श्रीमतीसहितले कन्सल्टेन्सीमा कक्षा लिइरहेको देखिन्छ ।
अमेरिका जाने आसमा लाखौं रुपैयाँ डुबाएका दर्जन पीडितले सांसदद्वय अन्तिमसम्म अमेरिका जान लागिपरेको र उनीहरूकै विश्वासमा पर्दा आफ्नो रकम डुबेको गुनासो गरेका छन् । भिसाका लागि अन्तर्वार्ता दिन फागुन २९ गते अमेरिकी दूतावास पुगेका दाङ, तुलसीपुरका हिमाल बस्नेतले सांसद थापालाई दूतावासअगाडि भेटेको बताए । अमेरिका जाने आसमा १२ लाख रुपैयाँ डुबेको उनले जानकारी दिए । ‘नेताहरूसँगै जाने हो भनेपछि पत्याइयो,’ उनले भने, ‘अन्तिममा धोका पाइयो ।’ सांसदद्वयले अन्तिम समयसम्म अमेरिका जान सकिने बताएको पीडितहरूले आरोप लगाएका छन् । कान्तिपुरसँग सम्पर्कमा आएका अर्का पीडितले भने, ‘भिसाको निम्ति दूतावासले लिने अन्तर्वार्ताको दिन पुगेका दस जनासँग सांसद थापा आफैंले भेटेर कुरा गरेका थिए ।’
अमेरिकाको ओएस नेपाल नामक संस्थाका प्रमुख केशबहादुर कार्कीले फेब्रुअरी २४ मा काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेर सांसद सीता नेपालीलाई नन इमिग्रेन्ट बी वान बी टु भिसा दिन अनुरोध गरेका थिए । कार्कीले कार्यक्रममा सांसद सीता नेपाली, अम्बरबहादुर थापासहित १५ जना सहभागी हुने भन्दै दूतावासलाई अर्को पत्र पनि पठाएका थिए ।अमेरिकाबाटै सञ्चालित ओएस नेपाल डट कम नामक अनलाइन पोर्टलको अध्यक्ष केशबहादुरले सांसदसँगै अन्य १३ जनालाई अमेरिका पुर्याउने काममा रोल्पाका भरत डाँगीको सहयोग लिएका थिए । अमेरिकाको क्यालिफोर्नियामा हुने ‘राष्ट्र निर्माणमा महिलाको भूमिका : अनुभव आदानप्रदान’ नामक कार्यक्रममा सहभागी हुने भन्दै रुकुम र दाङलगायत जिल्लाका दर्जन पीडितले भरत र उनले भनेका मान्छेलाई रकम बुझाएका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका धेरैजसो पीडितले प्रतिव्यक्ति १० लाखभन्दा धेरै रकम बुझाएको बताएका छन् । मानव तस्कर गिरोहले दुवै सांसदलाई अघि सारेर अमेरिका लैजाने नाममा डेढ करोडभन्दा धेरै रकम उठाएको पाइएको छ ।
कान्तिपुरलाई प्राप्त कागजातअनुसार दुई सांसदका अलावा सुनीता खड्का, कपिता श्रेष्ठ, नवराज गोतामे, हिमाल बस्नेत, नरेश खड्का, विवेक खड्का, सुदर्शन लिम्बू, दिलीपकुमार थापा, सावित्री थापा कुँवर, तारापति पौडेल, पाना थापा क्षत्री र मीना ओली अमेरिका जान लागिफरेका थिए । स्रोतका अनुसार कार्यक्रम आयोजकले सांसदसहितका व्यत्तिले विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधित्व गर्ने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई झुक्याउन खोजेको देखिन्छ ।
राजनीतिक दलका उच्च नेताहरू र प्रहरीका उच्च अधिकारीसँगको बसउठको तस्बिर देखाउँदै डाँगीले आफ्नो पहुँच देखाएको पीडितले बताएका छन् । अमेरिकामा रहेको केशबहादुरसँग व्यक्तिगत चिनाजानी नभए पनि फोनकै भरमा कार्यक्रमको निम्ता गरेपछि र डाँगीले सबै खर्च बेहोरेर लैजाने बताएपछि सांसदद्वयले अमेरिका जान कागजी प्रक्रिया सुरु गरेका थिए । सांसद थापाले भने आफूसँग अमेरिकाको बहुप्रवेश भिसा भएकाले श्रीमतीलाई लैजाने प्रयास गरेको र सांसद नेपालीले रातो पासपोर्ट निकालेर प्रक्रिया अगाडि बढाएको देखिन्छ ।
मानव तस्करले सांसदलाई उपयोग गर्न खोजेको बारे यसअघि प्रकाशित समाचारमा सांसद थापाले पीडितहरूले आफ्नो फसेको रकम उठाउन कागज गरेको सूचना आफूले पाएको बताएका थिए । पीडितले भने थापाले भनेजस्तो पैसा फिर्ता लिनका लागि कुनै कागजी सम्झौता नभएको बताएका छन् ।थापाले अमेरिका पठाउने भन्दै रकम उठाउने डाँगी भारततिर फरार भएको र पीडितले युवराज डाँगी र मीना डाँगीसँग कागज गरेको सूचना आफूले पाएको बताएका थिए । कान्तिपुरसँग सम्पर्कमा आएका युवराजले डाँगीले कसैसँग पैसा नलिएको र भरत डाँगीसँग आफ्नै पैसा उठाउन बाँकी रहेको दाबी गरे । उनले सांसदद्वयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि तथ्य लुकाइएको बताउँदै भने, ‘छानबिन गरे सबै तथ्य बाहिर आउँछ ।’
छोरा विवेकलाई अमेरिका पठाउने भन्दै १६ लाख रुपैयाँ फसाएका दाङ बिजौरीका जीवन खड्काले सांसद पनि जाने कार्यक्रम भनेपछि विश्वासमा परेर पैसा दिएको बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अमेरिकाको ५ वर्षे मल्टिपल भिसा लगाइदिन्छु । सांसद पनि जाँदैछन् भनेर हामीलाई झुक्याइयो ।’ आफ्नो २१ वर्षीय छोरा सुदर्शनलाई अमेरिका पठाउने भन्दै ११ लाख २५ हजार गुमाएका दाङ घोराहीका सोमराज लिम्बूले आफूहरू सांसद पनि जाने कार्यक्रम भएकाले भर परेर पैसा गुमाएको बताए । उनले पटकपटक गरी मनी ट्रान्सफरमार्फत भरत डाँगीलाई पैसा पठाएको बताउँदै भने, ‘हाम्रो पैसा फसिहाल्यो । कानुनले न्याय दिन्छ भन्ने विश्वास पनि छैन । त्यही भएर कहीं कतै उजुरसम्म गरेका छैनौं ।’ उनले पीडितहरूको पैसा फसेपछि सांसदहरू उम्कन खोजेको बताउँदै भने, ‘फसेको पैसा कसरी उठाउने भन्ने चिन्तामा छौं । हामीलाई न्याय चाहियो ।’
अमेरिका छिराउने भन्दै रकम उठाइएको बारे १५ चैतमा कान्तिपुरमा समाचार प्रकाशित भएलगत्तै घटनाबारे महानगरीय प्रहरी अपराध महाशाखाले आन्तरिक छानबिन सुरु गरिसकेको छ । महाशाखाका एक अनुसन्धान अधिकारीले सांसदसमेत मुछिएको घटनाबारे प्रारम्भिक सूचना संकलनको काम भइरहेको बताए ।
स्रोतका अनुसार मंगलबार मात्रै सांसद अम्बरबहादुर थापा र सीता नेपाली घटनाबारे जानकारी दिन महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए । महाशाखाका अनुसार दुवै सांसदले घटनाबारे बताउँदै आफ्नो संलग्नता नभएको र घटनाबारे विस्तृत अनुसन्धान गर्न भन्दै निवेदन दिएका छन् । सांसद सीता नेपालीले आफूहरूले महाशाखामा निवेदन दिएको बताइन् । तर पत्रकार सम्मेलनमा गरेको दाबीमाथि पीडितहरूले उठाएको प्रश्नको जवाफ आफूले यसअघि नै दिएको भन्दै थप नबोल्ने बताइन् । अपराध महाशाखाका अधिकारीहरूले भने घटना गम्भीर भए पनि पैसा फसाएका पीडितहरू प्रहरी सम्पर्कमा नआइसकेको बताए ।
कान्तिपुरसँग सम्पर्कमा आएका दाङ बिजौरीका तिलबहादुर खडकाले पनि १९ वर्षीय छोरा नरेशलाई अमेरिका पठाउने भन्दै २१ लाख ३५ हजार बुझाएको बताए । उनले अमेरिका जाने भन्दै आफूहरूलाई ठगिएको र यसबारे अनुसन्धान गरी आफ्नो पैसा फिर्ता दिलाइदिनुपर्ने बताए । कान्तिपुरसँग सम्पर्कमा आएका अन्य केही पीडितहरूमध्ये केहीले सोझै भरत डाँगीलाई रकम दिएको बताएका छन् भने केहीले भरतले भनेअनुसार मीना वलीको खातामा पैसा हालिदिएको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा मीनाले आफ्नो खातामा पैसा आएको स्विकार्दै भनिन्, ‘अरू कुरा मलाई केही थाहा छैन । पैसा दिन्छु भन्दाभन्दै आरोप लगाएका मात्र हुन्न ।’