वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन्।
पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितबाट ४२ लाख रुपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौं बौद्धबाट बिहीबार र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरेको हो।