अमेरिकाले देश निकाला गरेका तीन जना भुटानी शरणार्थी झापामा पक्राउ

31 March, 2025

पार्थ मण्डल

झापा : अमेरिकाले देश निकाला गरेका तीन जना भुटानी शरणार्थी झापामा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दमक नगरपालिका–३ बेलडागी शिविर बस्दै गरेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए।

उनीहरूलाई प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार दिउँसो २ बजे बेलडागी शिविरबाटै पक्राउ गरेको हो। अमेरिकाले उनीहरूलाई देश निकाला गर्दै भुटान फिर्ता पठाएको थियो। उनीहरू भुटान नगएर पुनः नेपाल आएर शिविरमा बसेका थिए।

उनीहरू झापाकै सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेको हुन सक्ने प्रहरीको अनुमान छ। भुटानीहरूलाई अमेरिकाले फिर्ता पठाएपछि उनीहरू विभिन्न देश हुँदै भारत आइपुगेका हुन्।

भारतमा रहेका भुटानीहरू नेपाल प्रवेश गर्न खोजिरहेको सूचना प्रहरी, प्रशासनले थाहा पाएलगतै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको डीएसपी खड्काले बताए। पक्राउ परेका तीन जना भुटानी शरणार्थीलाई आवश्यक कारबाही लागि अध्यागमन कार्यालय काँकडभिट्टा बुझाइसकेको उनको भनाई छ।

भारतले समेत भुटानी शरणार्थीलाई त्यहाँ शरण नदिने भएपछि भारत आइपुगेका भुटानीहरू अहिले नेपाल प्रवेश गर्न खोजिरहेको अवस्थामा सशस्त्र प्रहरीले समेत सीमामा उच्च निगरानी बढाएको अवस्था छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024