अमेरिकाका दुई सहरमा नेपाली कन्सुलेट कार्यालय खोलिँदै

20 June, 2025

न्युयोर्क, असार ५ गते। नेपाली जनसम्पर्क समिति, अमेरिकाले अमेरिकाको टेक्सास र क्यालिफोर्नियाको सन् फ्रान्सिस्को सहरमा नेपाल सरकारद्वारा कन्सुलेट कार्यालय स्थापना हुने तयारीप्रति खुसी व्यक्त गरेको छ।

नेपाल सरकारका तर्फबाट दुवै स्थानमा वाणिज्य दूतावास स्थापना गरी सेवा सञ्चालनका लागि प्रारम्भिक तयारी भइरहेका बेला उक्त समितिले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित नेपाल सरकारप्रति विशेष आभार प्रकट गरेको हो।

‘‘नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हित र नेपाल सरकारबाट प्रदान गरिने सेवा सहज रूपमा उपलब्ध गराउन सधैँ प्रतिबद्ध छ ।’’ विज्ञप्तिमा भनिएको छ ।

पश्चिमी क्षेत्रको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को र टेक्सासको डाल्लास सहरमा वाणिज्य दूतावासको आवश्यकता सम्बन्धमा पटक पटक नेपाल सरकार र नेपाली कांग्रेसको नेतृत्वसमक्ष पहल गर्दै आएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयबाट जिम्मेवारी पाएका कर्मचारीहरू हाल दुवै सहरमा पुगेर कार्यालय खोल्नका लागि अध्ययनरत छन्।

सभापति आनन्द विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा सेवा सञ्चालनपछि अमेरिकास्थित नेपाली समुदायले सहज र कम झन्झटिलो सेवा पाउने विश्वास व्यक्त गरिएको छ ।

नेपाल सरकारको औपचारिक कार्यालय स्थापना भएपछि राहदानी, नागरिकता, आप्रवासनसम्बन्धी सिफारिस र अन्य सेवामा सहज हुने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024