अब हाम्रा रोकौं, राम्रा रोजौं

23 February, 2026

Brabim Karki

केही महिनाअघि मेरो एकजना आफन्त छोटो बिदामा विदेशबाट नेपाल आएका थिए। दशकभन्दा बढी समय उनले परदेशमै पसिना बगाए। त्यो समय यति लामो थियो कि उनले आफ्नै छोरीको अनुहार राम्रोसँग देख्नसमेत पाएका थिएनन्। घर फर्किंदा वास्तविकता झन् कठोर थियो। उनकी श्रीमतीले अर्को जीवन रोजिसकेकी थिइन्, छोरी हजुरबुवा–हजुरआमासँग बस्थिन्। जब उनी घरभित्र छिरे, आफ्नै छोरीले बुवालाई चिन्न गाह्रो मानिन्। त्यो क्षण शब्दमा उतार्न सकिने थिएन। म पनि त्यहीँ उपस्थित थिएँ। आँखा भरिए, मन नै भारी भएर आयो। केहीबेरपछि उनले छोरीलाई अँगालो हालेर भक्कानिँदै रोए। बुवाको त्यो रोदन कुनै कमजोरी थिएन, त्यो त वर्षौंको बिछोडको चिच्याहट थियो।

उनी केवल १० दिनको छुट्टी लिएर आफ्नो देश आएका थिए। त्यही १० दिनले जीवनभरको दूरी मेटिँदैन रहेछ। एक हिसाबले भन्दा उनलाई आफ्नै देश पनि विदेशजस्तै भएको थियो। नेपाल छोड्ने दिन म पनि बिदाइ गर्न पुगेँ। विमानस्थलतिर हिँड्दा उनले आफ्नी छोरी र आमा–बुवालाई अँगालो हालेर, आँखा भारी आँसुसहित भने, ‘अब देशमा चुनाव आउँदैछ। राम्रालाई भोट हाल्नुस्, हाम्रालाई होइन। देश विकसित होस्, देशमै रोजगारी सिर्जना होस्, ताकि मेरी छोरीहरू र आउने सन्तति परदेसिन नपरोस्।’ त्यो सुन्दा मेरो मन चिराचिर भयो। आखिर खुसी भनेको के हो र। आफ्नै आँगनमा आफ्ना छोराछोरी हुर्किएको देख्नु नै त हो।

त्यही क्षण राजनीतिप्रति रिस पनि उठ्यो। जनताले यत्रो मौका दिए, भरोसा दिए। तर धेरैले आफ्नो स्वार्थबाहेक अरू केही देखेनन्। अलिकति देशका लागि सोचेको भए, आज हामी कहाँ पुग्थ्यौं होला। मलाई लाग्यो, अब नयाँ पुरानो होइन, राम्रो र नराम्रो छुट्ट्याएर भोट हाल्ने समय आएको छ। उनी एक्ला होइनन्। उनीजस्तै कयौँ हरेक दिन बिदेसिन बाध्य छन्। यस्ता दृश्य देख्दा मन खिन्न हुन्छ। आखिर किन हाम्रा युवाहरू आफ्नै देशमा अवसर नपाएर बाहिर जानुपर्छ। यो निर्वाचनले आशा दिएको छ, तर मनको कुनामा डर पनि छ, फेरि गलत निर्णय नहोस् भनेर। एउटा भनाइ नै छ, ‘आशा भनेको उज्यालो देख्ने आँखा हो।’ तर त्यो उज्यालो देख्न हामीले आँखा खोल्नैपर्छ, विवेकले भोट हाल्नैपर्छ। नत्र, परदेसिने बुवाको आँसु र नचिन्ने छोरीको नजर यत्तिकै दोहोरिरहनेछ।

आउँदो निर्वाचन केवल एउटा मिति होइन, यो हाम्रो सामूहिक विवेकको परीक्षा हो। यो त्यो क्षण हो, जहाँ एउटा मतले पनि देशको भविष्य मोडिन सक्छ। नेपालले आज फेरि एकपटक हामीतर्फ आशाले भरिएका आँखाले, थाकेका मनले, र भविष्य खोजिरहेका युवाका सपना बोकेर हेरेको छ। हामीले अब पार्टीको नाम होइन, मान्छेको आत्मा, चरित्र र नियत हेर्नुपर्छ। उसको बोलीमात्र होइन, उसको कर्म हेर्नुपर्छ। ऊ सत्तामा पुगेपछि देश सम्झिन्छ कि आफ्ना मान्छे ? ऊ जनतासँग उभिन्छ कि कुर्सीसँग टाँसिन्छ ? यहाँ नयाँ र पुरानोको बहस होइन, राम्रो र नराम्रो छुट्ट्याउने समय आएको छ। किनकि गलत रोजाइको मूल्य केवल आजले होइन, हाम्रा सन्तानको भोलिले तिर्छ।

हाम्रो एउटा मतले नेपाललाई ठूलो आशा दिन सक्छ। यो बेला झण्डा होइन, देश हेर्ने हो। एउटा भनाइ छ, ‘समय बलवान् हुन्छ।’ तर समय आफैं केही गर्दैन, हामीले त्यसलाई के गर्छौं, त्यही निर्णायक हुन्छ। आज हामीले आँखा चिम्लियौं भने, भोलि पछुतोले आँखा रसाउनेछ। सही नेतृत्व छान्न सक्यौं भने, सायद भोलिका छोराछोरीले बिदेसिनु पर्दैन, सायद आमाबुबाको आँखाबाट बिदाइको आँसु झर्ने छैन। नेपालमा निर्वाचन आउँदा सधैं उही कथा दोहोरिन्छ। यहाँ पार्टीको नाम ठूलो, उम्मेदवारको चरित्र सानो, नियत खराब हुन्छ, तर पनि हामी पार्टीका नाममा त्यही उम्मेदवारलाई भोट हाल्छौ। विगतमा भ्रष्टाचारमा डुबेका मानिसलाई पनि ‘हाम्रो पार्टी’ भनेर मत दिइन्छ। यहाँ जनताभन्दा कार्यकर्ता धेरै छन्, जो नेताको गल्ती देख्दैनन्, केवल झण्डा देख्छन्। तर अब यसरी चल्दैन। अब परिवर्तनको आवाज गल्ली–गल्लीबाट उठिसकेको छ।

२००६ को शान्ति सम्झौताले बन्दुक त थाम्यो, तर भोक र पिडा थाम्न सकेन। युद्ध सकियो, तर पिडा सकिएन। व्यवस्था फेरियो, तर जनताको अवस्था फेरिएन। नेताहरूले ठूलो सपना देखाए, तर त्यो सपना उनीहरूकै घरआँगनमा सीमित रह्यो। सत्ता र शक्तिले नेता र उनका नातागोताको जीवन फेरियो, तर किसान, मजदुर र युवाको जीवन उस्तै रह्यो। भ्रष्टाचारका कथा दिनहुँ थपिँदै गए, र आज १५–२४ वर्षका युवामध्ये पाँचमध्ये एक बेरोजगार छ। झन्डै एक तिहाइ घरपरिवार रेमिट्यान्सको भरमा बाँचिरहेका छन्। सामाजिक सञ्जालमा आवाज उठाएका युवाले हामीलाई ऐना देखाइदिए। असमानता, भ्रष्टाचार र बेथितिको कुरूप अनुहार अब लुकाउन सकिँदैन। प्रतिबन्धले आवाज दबाउन खोजियो, तर सत्य झन् चर्को भयो।

अर्को पिडा पैसाको खेल हो। महात्मा गान्धीले भनेका थिए, ‘संसारमा सबैको लागि पर्याप्त छ, तर लोभ सबै समस्याको जड हो।’ यही लोभले हाम्रो निर्वाचनलाई पनि दूषित बनाइरहेको छ। यहाँ मत किन्ने संस्कार छ। यहाँ केही स्थानामा पैसाले मत किन्ने प्रवृत्ति छ। यसले गर्दा पनि हामीले राम्रो व्यक्ति छान्न सक्दैनौ। सरकारहरू ढल्छन्, योजना अधुरा रहन्छन्। लगानीकर्ता डराउँछन्, अर्थतन्त्र लड्खडाउँछ। पर्यटन, जलविद्युत्- सम्भावना प्रशस्तै छन्, तर दूरदर्शी नेतृत्वको अभावले ती सम्भावना कागजमै सीमित छन्।

हामी सधैं उही गल्ती गर्छौं, पार्टी, जात, आस्थाको नाममा मत दिन्छौं। योग्य मानिस पछाडि पर्छ, अयोग्य अगाडि बढ्छ। अब प्रश्न सोध्नुपर्छ: उसले विगतमा के गर्‍यो ? उसले कसका लागि काम गर्‍यो ? देशका लागि कि आफ्ना लागि ? पार्टी होइन, व्यक्ति हेर्नुहोस्। यदि कसैले पैसा दिएर मत किन्न खोज्छ भने, पैसा लिनुहोस् तर मत देशलाई दिनुहोस्। किनकि त्यो मत तपाईंको मात्रै होइन, त्यो मत नेपालकै हो। ‘परिवर्तन आफैंबाट सुरु हुन्छ’ भन्ने कुरा किताबमा होइन, मतदान केन्द्रमा प्रमाणित गर्नुपर्छ।

मतदान गर्दा एकछिन् सोच्नुहोस्- यो मौका फेरि छिट्टै आउँदैन। आज गुमायौं भने, वर्षौं कुर्नुपर्छ। देशलाई पहिलो प्राथमिकता दिनुहोस्। झण्डाको रंगमा होइन, विकासको दिशामा मत दिनुहोस्। साथी, परिवार, छिमेकी सबैलाई सही रोजाइतर्फ प्रेरित गर्नुहोस्, ताकि हाम्रो मत खेर नजाओस्। अब नयाँ पुरानो होइन, राम्रो र नराम्रो छुट्ट्याएर मत दिनुहोस्। यो नेपाललाई समृद्ध बनाउने अवसर हो। आज हामीले जिम्मेवारीबाट भाग्यौं भने, भोलि पछुताउने पर्नेछ। नेपालको भविष्य कुनै नेताको भाषणमा होइन, त्यो तपाईं हाम्रो हातमा छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024