तुलसी सुवेदी
काठमाडौं : कुवेतले अनधिकृत कामदार फर्काउन सुरु गरेको छ। कुवेत सरकारले अनधिकृत कामदारलाई देश छोडाउन आममाफी दिने घोषणा गरेको छ। कोरोना भाइरससँग लड्ने सरकारको पहलस्वरूप अप्रिल ३० सम्म आममाफी दिइएको हो। कुवेतजस्तै अन्य देशले पनि अनधिकृत कामदारलाई देश छोडाउन आममाफीको निर्णय गर्न सक्ने देखिएको छ। यस्तो अवस्थामा छिमेकी मुलुक बंगलादेश, भारत या पाकिस्तानी नागरिकसँगै नेपालीलाई समेत उद्धार गर्न सरकार तयार रहनुपर्ने आप्रवासनसम्बन्धी जानकार बताउँछन्। कुवेतको आममाफीको निर्णयपछि बंगलादेशले भने त्यहाँबाट आममाफी लिएर आफ्ना नागरिक ल्याउने पहल थालेको छ।
यसैबीचमा शनिबारदेखि प्रधानमन्त्री केपी ओलीले नेपाली कामदार रहेका पश्चिम एसियाली मुलुकका सरकार प्रमुखसँग संवाद थालेका छन्। यतिबेला नेपाली कामदारको सुरक्षाका लागि श्रम गन्तव्य मुलुकसँग कूटनीतिक संवाद जारी राख्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने वैदेशिक रोजगार मामिलाका जानकार डा. गणेश गुरुङले बताए।
लामो समयदेखि काम नपाएपछि खाडी र मलेसियामा नेपाली कामदार अलपत्र पर्न थालेका छन्। मलेसियालगायत विभिन्न देशमा अवैधानिक रूपमा ठूलो संख्यामा नेपाली कामदार छन्।
कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेका बेला खाडी र मलेसियामा कार्यरत अवैधानिक कामदार त्रासमा देखिएका हुन्। कोरोनापछि उपचार गर्न जाँदा पक्राउ नगर्ने केही देशले घोषणा गरेपनि कामदार विश्वस्त हुन सकिरहेका छैनन्। ती देशले कोरोनाको शंका लागेमा निर्वाध अस्पताल जान बताइरहेका छन्।
प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले अवैधानिकरूपमा बसेका कामदार उच्च जोखिममा रहेकोे बताए। कम्पनी छोडेर अन्यत्र जाने र अवैध भएर बस्ने कामदार धेरै छन्। केही देशले गत डिसेम्बरमा एम्नेस्टीको सुविधा दिए पनि अवैधरूपमा बसेका सबै कामदार फर्किसकेका छैनन्।
कार्कीका अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा ३९ जना कामदार अलपत्र परेका छन्। ती कामदारको उद्दारका लागि पहल भइरहेको छ। त्यहाँको राजदूतावाससँग समन्वय भइरहेको उनले बताए। त्यस्तै साउदी अरबमा एक हजार दुई सय अवैधरूपमा बसेका कामदार फर्कन चाहेका छन्।
कोरोनाको त्रास बढ्दै गएपछि गैरआवासीय नेपाली संघले विभिन्न देशमा अवैधानिकरूपमा बसिरहेका कामदारको उद्दार गर्न सक्रियता देखाएको छ। संघले मध्यपूर्व क्षेत्रमा रहेका कामदार उद्दार गर्न समिति बनाएर काम सुरु गरिसकेको छ। संघका कतार प्रतिनिधि दीपजंग शाहले सबै देशले कगजात नहेरी मानवीयताका आधारमा कामदारलाई सहयोग गरिरहेका छन्। कोरोनाका कारण समस्यामा परेका सबै कामदारको उद्दार गर्न संघले समिति बनाएको हो। संघले समस्यामा परेका कामदारलाई राहत वितरण गरिरहेको छ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षेत्रीले कागजातविहीन भएर बसेका नेपालीको उद्दार गर्न आवश्यक भएको बताए। भिसा अवधि सकिएर पनि अवैधानिकरूपमा बसिरहेका, भ्रमण भिसामा गई लकडाउनमा परेकादेखि अध्ययन भिसामा रहेका नेपाली विद्यार्थीको उद्दार गर्नुपर्ने उनको भनाइ छ। कुन देशमा नेपाली समस्यामा छन् भन्ने संघले पहिचान गरी उद्दारका लागि समन्वय गर्न संघ तयार रहेको जनाइएको छ।
मध्यपूर्वका देशका साथै युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशमा अवैधानिकरूपमा बसेका नेपालीको उद्दार जरुरी रहेको क्षेत्रीले बताए। कोरोनाले अझ विकराल रूप लिए ती देशको प्राथमिकता आफ्नै नागरिक र वैधानिकरूपमा बसेका कामदार हुन्छन्। कागजात नभई बसेकाले काम नपाउने समस्या हुने भएकाले उद्दारका लागि सरकारले सक्रियता बढाउनुपर्ने उनको भनाइ छ।
विभिन्न देशले आफ्नो देश फर्कन चाहनेलाई सहजरूपमा जान दिने सम्भावना रहेकाले त्यसको अवसर नेपालले लिनुपर्ने उनले बताए। कुवेत सरकारले यो सुविधा दिने बताइसकेको छ। अन्य देशले पनि यो सुविधा दिन सक्छन्। अवैधानिकरूपमा रहेका नेपालीले नेपाल फर्कन चाहे भने जरिवाना तिर्नुका साथै कानूनले तोकेको सजाय भोग्नुपर्छ। तर, अहिले सरकारले अनुरोध गरेमा कुनै जरिवाना नतिरी स्वदेश फर्कन पाउनेछन्। वैदेशिक रोजगार बोर्डका कार्यकरी निर्देशक राजन श्रेष्ठले फर्काउनुपर्ने अवस्था आए तयार रहेको बताए। सम्बन्धित देशका दूतावासमार्फत उद्धार गर्न अनुरोध आए बोर्ड तयारी अवस्थामा रहेको उनले बताए।