‘अघिल्लो दिन युवतीको भिडिओ खिचे, भोलिपल्ट भाग्य चम्किन्छ भन्दै घरबाट लगे’

10 February, 2020

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ श्रीनाथकोटकी १७ वर्षीया युवतीको गाउँकै दुई जनाले हात हेरे।‘हत्केला राम्रो छ। हातमा शंखचक्र पनि रहेछ, चितवन गए भाग्य चम्किन्छ’ भनेर युवतीलाई विश्वासमा लिए।

यतिमात्र होइन, युवतीको उचाइ नापेर गत बिहीबार साँझ भिडिओ बनाए। युवती घर गइन्।

भोलिपल्ट (शुक्रबार) युवतीलाई घरबाट चितवन जान गाडी चढ्ने ठाउँसम्म झरे। तर युवतीलाई शंका लाग्यो, उनले आफूलाई बेच्न लागेको त होइन भन्ने आशंका गरिन् र भागेर परिवारको सम्पर्कमा पुगिन्।

परिवारको उजुरीपछि गाउँकै ३९ वर्षीय रामबाबु दुतराज र ७१ वर्षीय भीमप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको छ।युवतीलाई आर्थिक प्रलोभन देखाई ललाइफकाइ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले सेतोपाटीलाई दिएको जानकारीअनुसार उक्त घटनामा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान सुरू गरिएको छ।

‘आफूहरूसँग चितवन गए तिम्रो भाग्य चम्किन्छ। एक करोड पनि पाउँछौ भनेछन्,’ घटनाको प्रारम्भिक अनुसन्धानपछि खतिवडाले भने, ‘उचाइ नापेर उनीहरूले युवतीको भिडिओ पनि खिचेछन्। हत्केला राम्रो छ। शंख छ, चितवन पुगेपछि भाग्य चम्किन्छ पनि भनेका रहेछन्।’

उनीहरूलाई शुक्रबार चितवन जान लागेका बेला श्रीनाथकोटबाटै पक्राउ गरिएको उनले जानकारी दिए।प्रहरीले उक्त घटनाबारे सोमबार सार्वजनिक गरेको हो।

‘युवती भागेर परिवारको सम्पर्कमा पुगेकी हुन्,’ उनले भने।

शुक्रबार नै मौखिक उजुरी दिएका युवतीका परिवारले आइतबार मानव ओसारपसार तथा बेचविखनसम्बन्धी कसूर गरेको भन्दै जाहेरी दिएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024