अष्ट्रेलियाको समुद्री किनारमा भेटिएको शव नेपाली महिलाको

1 August, 2018

अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको थियो। उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ।

 

अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त महिलाको शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।किनारमा एक्सरसाइज गर्न आएका दुई महिलाले बिहान ५ बजे महिलाको शव देखेर प्रहरीलाई खबर गरेका थिए।

 

महिलाको शरीरमा पूरा कपडा भएको र उनको पहिचान खुल्ने किसिमको कागजात नरहेको प्रहरीले जनाएको छ। महिलाले लामो बाहुला भएको जम्पर, कलेजी रङको पेन्ट र कालो रङको जुत्ता लाएकी छन्।

 

उनको शरीरमा एक ठाउँमा चोट देखिएको छ। तर त्यो त्यति गम्भीर नभएको प्रहरीको भनाइ छ। महिलाको पहिचान गर्न प्रहरीले सार्वजनिक रुपमा जानकारी दिन आह्वान गरेको पनि द सन्डे मर्निङ हेराल्डले जनाएको छ।

 

सुरुमा उक्त महिला भारतीय मूलकी भनेर अनुमान गरिएको थियो। अनुसन्धानबाट उक्त महिला नेपाली भएको प्रहरीले पुष्टि गरेको छ।ती नेपाली महिलाको मृत्युमा कुनै प्रहरीले कुनै आपराधिक संलग्नता नरहेको अनुमान गरे पनि अनुसन्धान जारी राखेको छ।

 

स्थानीयले भने प्रहरीले कुनै आपराधिक घटनाको झैं अनुसन्धान गरिरहेको जनाएका छन्। विभिन्न सञ्चार माध्यमका अनुसार महिलाको शव भेटिएको स्थानमा प्रहरीले टेन्ट राखेको छ भने त्यहाँसम्म पुग्ने बाटो पनि बन्द गरेको छ।

 

उनको प्रस्ट तस्वीर सार्वजनिक गरेर थप परिचय खुलाउने तयारी प्रहरीले गरेको छ। पोस्टमार्टमपछि थप जानकारी खुलस्त हुने प्रहरीले जनाएको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026