रुद्र खड्का
दिया मेनपावरमार्फत रोजगारीका लागि दुबई गएका सिमरा, बाराका नारायण पौडेल आठ महिनामै घर फर्किए । मेनपावरलाई तीन लाख ५० हजार रुपैयाँ बुझाएर गएका पौडेल आठ महिनासम्म काम गर्दा सम्झौता अनुसार पारिश्रमिक नपाएपछि घर फर्किएको बताउँछन् । दुबईको लिडर सेक्युरिटी कम्पनीमा मासिक दुुई हजार दुई सय ६० रियाल (करिब ६३ हजार रुपैयाँ) पारिश्रमिक पाउने सम्झौता अनुसार वैदेशिक रोजगारीका गएका पौडेलले अनेक प्रयास गर्दा पनि सम्झौता अनुसार पारिश्रमिक नपाएपछि घर फर्कने निर्णय गरेको बताए ।
‘आठ महिना काम गर्दा सम्झौता अनुसार १८ हजार रियाल पारिश्रमिक पाउनुपर्ने हो,’ उनले भने, ‘तर त्यो कम्पनीले कहिले सय त कहिले १२ सय गर्दै आठ महिनासम्म ६ हजार रियालभन्दा बढी दिएन ।’ पौडेलका अनुसार दुबईमा जति कमाइ हुन्थ्यो । त्यत्ति नै रकम सकिएपछि त्यहाँ बस्नुको कुनै अर्थ रहेन । रोजगारदाताले सम्झौता अनुसार पारिश्रमिक नदिएपछि पटकपटक मेनपावरसँग गुनासो गरे पनि सहयोग नपाएपछि अन्तिममा दुबईमा बसेर पत्रकारिता गर्दै आइरहेका उमाकान्त पाण्डेको सहयोगमा स्वदेश फर्केको बताए।
वैदेशिक रोजगारीमा गएर घरपरिवारको आर्थिक अवस्था सुधार्ने लक्ष्य लिएका पौडेलले सम्झौता अनुसार पारिश्रमिक नपाउँदा दुबईमा जति समस्या भोगेका थिए, स्वदेश फर्र्किएपछि पनि उनको हालत त्यस्तै छ । वैदेशिक रोजगार ऐनले मेनपावरसँगको सम्झौता अनुसार काम र पारिश्रमिक नपाए कामदारले लागतको डेढ गुणासम्म क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था गरेको छ । तर, मेनपावरको बदमासीले पौडेल जस्ता कैयौंको डुबेको रकम असुल्न कठिन भइरहेको छ । वैदेशिक रोजगारीमा जाँदा लागेको खर्चसहित क्षतिपूर्ति पाउन उनले वैदेशिक रोजगार विभागमा उजुरी दिए पनि मेनपावर सञ्चालक क्षतिपूर्ति पाउन जो व्यक्तिलाई रकम बुझाएको हो, उसैसँग असुल्नु भन्दै पन्छिरहेका छन्।
पौडेलसँगै सोही मेनपावरमार्फत दुबईमा सुरक्षा गार्डको काममा गएका र सँगै फर्केका मकवानपुर, हेटौंडाका अतिराज उप्रेतीले क्षतिपूर्ति माग्दा मेनपावर सञ्चालकले जसलाई रकम बुझाएको उसैसँग लिनू भनेर पन्छिने प्रयास गरिरहेको बताए । उप्रेतीका अनुसार दुबई जानुअघि मेनपावर सञ्चालकले ६० हजार रुपैयाँ नगद मेनपावर कार्यालयमा बुझाउन लगाएका थिए । दुई लाख ९० हजार रुपैयाँ मेनपावरमा काम गर्ने संगीता दंगाल नामकी कर्मचारीको व्यक्तिगत खातामा जम्मा गर्न लगाएका थिए ।
‘दुबईमा भोग्नुपरेको समस्या जानकारी गराउँदै डुबेको रकम फिर्ता गर्नुपर्यो भन्दा मेनपावर सञ्चालक संगीताले जागिर छाडेको र पैसा लिने हो भने उसैलाई खोज्नु भन्दै पन्छिने गर्छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीको नाममा यसरी हाकाहाकी ठगी गर्नु त भएन नि !’ सोही मेनपावरले पौडेल र उप्रेतीसहित १० जनालाई ठगेको भन्दै विभागमा उजुरी दिएका छन्।
ठगीमा परेको भन्दै उजुरी गर्ने अर्का शेरबहादुर कार्कीले दुबईमा कार्यरत पत्रकार र दूतावासले खोजी गर्दा दिया मेनपावरले मागपत्र ल्याएको लिडर सेक्युरिटी कम्पनी नै कालोसूचीमा परेको फेला परेको बताए । ‘खोजी गर्दा त्यो कम्पनी कालोसूचीमा परेको फेला परेपछि सबैतिर खबर गयौं,’ उनले भने, ‘त्यसपछि जाने भनिएका युवा त ठगिनबाट बचे । तर, हामी कसरी क्षतिपूर्ति पाउँछौं भन्नेमा अन्योल भइरहेको छ ।’ आठ महिनाअघि १० जना युवालाई सुरक्षा गार्डका लागि दुबई पठाएको दिया मेनपावरले ५६ जनालाई सुरक्षा गार्डमा पठाउने गरी अखबारमा सूचना प्रकाशित गरेको उनले बताए ।
मेनपावर सञ्चालकले रकम जम्मा गर्न लगाएकी युवती बिहे गएर अन्यत्र गइसकेको बताउने गरे पनि पीडित भने त्यस्तो भनाइ असत्य भएको दाबी गर्छन् । पौडेलले भने, ‘सुरुमा व्यक्तिगत खातामा रकम जम्म गर्न लगाउने र अहिले आएर त्यो व्यक्ति सम्पर्कमा नभएको जवाफ फर्काउनु ठगी गर्ने नियत हो । त्यति गहिरो सम्बन्ध भएका व्यक्तिबीच अहिले सम्पर्क छैन भन्ने जवाफ चित्तबुझ्दो छैन।’
वैदेशिक रोजगार विभागका अधिकारी भने मेनपावरले ठग्न पाइन्छ कि भनेर कर्मचारीको नाममा रकम जम्मा गर्न लगाए पनि यस्ता घटनामा पीडितले क्षतिपूर्ति पाउने बताउँछन् । ‘वैदेशिक रोजगारीमा जानेसँग मेनपावरमा काम गर्ने जुन व्यक्तिले रकम असुल गरे पनि त्यसको दायित्व मेनपावरकै हुन्छ,’ विभागका निर्देशक रामकुमार थापाले भने, ‘यस्तो अवस्थामा मेनपावर सञ्चालकले पीडितलाई ठग्न मात्र नभई कर्मचारीलाई समेत अप्ठेरोमा पार्ने चाल चलेको हुन सक्छ ।’
वैदेशिक रोजगार ऐनले इजाजत प्राप्त संस्थाबाहेक अरु कसैले पनि रोजगारीका लागि विदेश पठाउन नपाइने व्यवस्था गरेको छ । विभागका कर्मचारीहरू पछिल्लो समयमा धेरै मेनपावरले कर्मचारीका नाममा रकम असुल गर्ने धन्दा चलिरहेको हुन सक्ने उल्लेख गर्दै यस्तो अवस्थामा मेनपावर कर्मचारीलाई सचेत रहन र व्यक्तिगत खातामा पैसा जम्मा नगराउन सुझाव दिएका छन् ।
दिया मेनपावरले १० जनासँग प्रतिव्यक्ति साढे तीन लाख रुपैयाँ असुल गरे पनि रसिद भने १० हजार रुपैयाँको दिएको छ । वैदेशिक रोजगार पीडितलाई कानुनी सेवा उपलब्ध गराउँदै आएका अधिवक्ता कृष्ण न्यौपाने ठगी गर्न नयाँ उपाय अनुसार मेनपावरले कर्मचारीको नाममा रकम जम्मा गराउन थालेको बताए । ‘वैदेशिक रोजगारीलाई सुधार गर्नुपर्ने आवाज उठिरहेको बेला झन् गलत शैली मौलाउँदैछ,’ उनले भने, ‘यस्तो सोचको विकास हुने हो भने कसरी यो क्षेत्र सुध्रिएला ?’