श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गे राइडरबीच द्वीपक्षीय भेटवार्ता भएको छ । अन्तरर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा पुगेका मन्त्रीले उक्त भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा मन्त्री विष्टले नेपालमा श्रम प्रशासन पुनर्संरचनाको कार्य चलिरहेको र त्यसका लागि श्रम, रोजगार र सामाजिक सुरक्षाको क्षेत्रमा भएका नीतिगत तथा कानुनी सुधार भइरहेको जानकारी गराएका छन् ।
उनले नेपालमा एकीकृत सामाजिक सुरक्षा प्रणालीको विकास गर्न र सोको प्रभावकारी कार्यान्वयन गर्ने दक्षता अभिवृद्धिमा आइएलओको प्राविधिक सहयोगका लागि आग्रहसमेत गरेका छन् । सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम निवारण गर्न नेपाल सरकारको प्रतिबद्धतासमेत मन्त्री विष्टले जनाएका छन् । भेटमा गरिबी र वञ्चितीकरणमा परेका वर्गलाई लक्षित गरी व्यापक रूपमा आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अगाडि सारिएको जानकारी गराउँदै उनले युवा वर्गको सीप विकासका लागि नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउन जोड दिए ।
त्यसक्रममा आइएलओका महानिर्देशक राइडरले श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा नेपालले अख्तियार गरेको नीतिगत तथा कानुनी सुधारको विषयमा आफू जानकार रहेको भन्दै त्यसप्रति खुसीसमेत व्यक्त गरे । ‘नेपाल र आइएलओबीच सहयोग र सम्बन्धको लामो इतिहास रहेको छ,’ उनले मन्त्री विष्टसँग भने, ‘नेपाललाई क्षमता विकासलगायतका क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आइएलओ तत्पर रहेको छ ।’