श्रममन्त्रीले रोके सरुवा हुन नमान्ने कर्मचारीको हाजिरी

23 March, 2018

रविन्द्र घिमिरे

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन निर्देशन दिएका छन् । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको पाइएपछि बिष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कुनै कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम मन्त्रालयले काजमा राखेको थियो ।

 

यसमा सामान्यले पटक-पटक असन्तुष्टी जनाएको थियो । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । तर, केही कर्मचारी विभागबाट अन्त जानै मानेका थिएनन् ।

 

खटाएको स्थानीय तहमा अनिवार्य रुपमा जानुपरेमा अटेर गरी रमानापत्र समेत नुबुझी कर्मचारीलाई श्रम मन्त्रालयले काजमा तानेर सामान्य प्रशासनको अधिकारमाथि नै चुनौती दिएको थियो । नियमतः सामान्य प्रशासनले सरुवा गरेको कर्मचारीलाई अर्को मन्त्रालयले काजमा राख्न पाउँदैन ।

 

दरबन्दीविना नै बसेपछि कम्प्युटर अधिकृतद्वय डम्बरबहादुर विश्वकर्मा र भवानी थपलिया तथा नायब सुब्बा लोकेन्द्रबहादुर रावल र कुमारबहादुर कटवाल, रबिन्द्र घिमिरे, राजन घिमिरे, गौरीकुमारी कार्की, लक्ष्मण गुरागाईं, केदार घिमिरे, यज्ञप्रसाद आचार्य, यज्ञबहादुर ओली, विद्याप्रसाद जैसी, सुमन पौडेल, सधुकर डाँगी र कार्यालय सहयोगीद्वय रञ्जु दाहाल र तुल्सीमान मर्हजनले तलबविना नै काम गरिरहेका छन् ।

 

श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गर्छ । श्रम स्वीकृतिदेखि एयरपोर्ट सेटिङसम्म यहाँका कर्मचारीको सन्जाल रहेको छ । त्यसैले यो कार्यालयमा आफू अनुकुलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीहरुको रुची हुने गर्छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026