यस्ता छन् गैरकानुनी अमेरिका छिर्ने नेपालीका दुःख

6 December, 2017

कल्पना घिमिरे 

 

नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । तीमध्ये खुट्टामा जीपीएस (व्यक्ति कहाँ पुगेको छ भनेर पत्ता लगाउने मेसिन) बाँधिएका एक जना छन् । स्थलगत मार्गबाट आउने केही छुटपुटबाहेक सबै दूतावासको सम्पर्कमा आउने गर्छन् । उनीहरू नेपाली दलालमार्फत नेपालबाट हिँडेर विभिन्न मुलुकका दलाल भेट्दै पैसा बुझाउँदै आइपुगेका हुन्छन् ।

 

यसरी नेपालबाट क्यारेबियन मुलुक, साउथ अमेरिका, मेक्सिकोको बोर्डर हुँदै अमेरिका आइपुग्न तीन महिनादेखि नौ महिनासम्म लाग्छ । कतै मरुभूमिमा हिँड्दै, मालवाहक ट्रकमा कोचिएर, महिनौं दिनसम्म पानीमात्रै पिएर, कतै पानीजहाज चढ्दै, कतै लुकेर धेरै दुःख झेल्दै आइपुगेका हुन्छन् । 

 

एउटा व्यक्ति यहाँसम्म आइपुग्दा सामान्यतया ४० देखि ५० लाख खर्च भएको हुन्छ । ‘७५ लाखसम्म दलाललाई बुझाएर आएको मान्छे भेटियो’, दूतावासका एक अधिकारीले भने, ‘ताप्लेजुङको फुङलिङबाट ६ महिना लगाएर, त्यत्रो पैसा खर्च गरेर आइपुगेको मान्छेले कहिले त्यो ऋण तिरिसक्ने ? सुरुका केही महिना त काम गर्न पनि पाउँदैनन् । उनीहरूलाई खान र बाँच्नकै लागि समस्या हुन्छ ।’

 

उनीहरू अमेरिका छिर्नेबित्तिकै आत्मसमर्पण गर्छन् । इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले हिरासतमा राख्छ र अन्तर्वार्ता लिएर असाइलम (राजनीतिक संरक्षण) फाइल गर्छ । यसरी आइपुगेका सबैले असाइलम फाइल गर्न पाउँछन् । त्यसपछि आइसका अधिकारीहरूले केही रकम धरौटी लिएर मुद्दाअनुसार केहीलाई खुट्टामा जीपीएस लगाएर छोडिदिन्छ ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आप्रवासी नीतिमा कडाइ गर्न थालेपछि त्यसरी धरौटी बुझाउनुपर्ने रकमको दर बढेको छ । पहिले मुद्दा हेरेर पाँचदेखि १० हजारसम्म बुझाउनुपथ्र्यो भने अहिले १० हजारभन्दा बढी रकम बुझाइरहेका छन् ।

 

आइसले अन्तर्वार्ता लिँदा ती नागरिकसँग केही कागजात हुँदैन । ‘उसले नेपाली हुँ भनेको भरमा आइसले सानो नोट दिएर पठाएको हुन्छ । कतिपय खुट्टामा जीपीएस बाँधेकाहरू रुँदै दूतावास आइपुग्छन्’, ती अधिकारीले भने, ‘उनीहरूले पासपोर्ट प्राप्त गर्नका लागि आवश्यक कागजात लिएर आए भने मात्रै हामीले पासपोर्टको प्रक्रिया अघि बढाउँछौं ।’

 

खुट्टामा जीपीएस बाँधेका व्यक्ति कहाँ पुगे र त्यो ठाउँमा कति समय बिताए भन्ने रेकर्ड हुन्छ । उनीहरूले काम गर्न पाउँदैनन् । नेपालबाट कागज मगाएर दूतावासमा पेस गरेपछि दूतावासले पार्सपोर्टका लागि पहल गर्छ । पासपोर्ट आइपुग्न तीन-चार महिना लाग्छ । त्यसपछि मात्रै उनीहरूले ‘वर्क परमिट’ पाउँछन् । काम गरेर पैसा कमाउन नपाएपछि यो तीन-चार महिनाको अवधिमा उनीहरूले चरम आर्थिक अभाव झेल्नु परिरहेको छ ।

 

हाल न्युयोर्कस्थित दूतावासले नौवटा राज्यका नेपालीको मुद्दा हेर्ने गरेको छ । न्युजर्सी, कनेक्टिकट, म्यासाचुसेट, न्युह्यामसायर, भर्नन, फिलाडेल्फिया, रोड आइल्यान्ड, मेनलगायत राज्यमा आइपुग्ने नेपालीहरू न्युयोर्कस्थित दूतावास आइपुग्ने गर्छन् । अरू राज्यहरूमा आइपुग्ने वासिङ्टन डीसीस्थित नेपाल एम्बेसीमा पुग्ने गरेका छन् ।

 

अवैध रूपमा आउनेको संख्या दैनिक बढिरहेको बारे दूतावासले नेपाल सरकारलाई पत्राचार गरिरहेको छ । ‘यसलाई नियन्त्रणका लागि हामीले यहाँबाट केही गर्न सक्दैनौं । नेपाल सरकारलाई पत्राचार गरिरहेका छौ’ दूतावासका महावाणिज्य दूत मधुकुमार मरासिनीले भने, ‘यसलाई नियन्त्रण गर्नेबारे सरकारले बेलाबखत कार्यक्रम गरिरहेको छ । केही नीतिगत निर्णय गरेर नियन्त्रण गर्ने पहल पनि गरिरहेको छ तर यहाँ आउनेको संख्या घटेको छैन । दलालले कतिबेला कहाँबाट पठाउँछ पत्तै हुँदैन।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026