डिपोर्ट हुनबाट जोगिए दीपक

27 September, 2016

डिपोर्टेसन सेन्टरमा राखिएको ४० दिनपछि रिहा

 

होम कार्की 

  

फेसबुकमा कमेन्ट गरेको अभियोगमा कतारबाट डिपोर्ट गर्न पक्राउ परेका गोरखाका दीपक लामिछानेलाई ४० दिनपछि सोमबार बिहान रिहा गरिएको छ । दीपक १४ वर्षदेखि कतारमा कार्यरत छन् ।

 

अस्ट्रेलियामा बस्ने दीपा राईको नामबाट दीपकविरुद्ध उजुरी परेपछि कतारको प्रहरीले छानबिन गरी उनलाई अगस्ट १६ मा पक्राउ गरी डिपोर्टेसन सेन्टरमा राखेको थियो । उजुरीमा दीपकले आफूमाथि मानहानि हुने गरी फेसबुकमा कमेन्ट तथा सन्देश पठाएको उल्लेख छ ।

‘नेपाली दूतावासको प्रयासमा डिपोर्ट हुनबाट जोगिएँ । दूतावासले आफ्नो नागरिकको हितका लागि खेलेको भूमिकाप्रति आभारी छु,’ लामिछानेले कान्तिपुरलाई भने, ‘मैले कतारमा पुन: काम गर्ने अवसर पाएको छु । ढिलै भए पनि न्याय पाएँ ।’

 

कतारस्थित नेपाली दूतावासले एउटा सामान्य नेपाली कामदारलाई डिपोर्ट गर्न नहुने भन्दै तत्काल कतारको परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण जनाएपछि उनलाई डिपोर्ट नगरी हिरासतमै राखिएको थियो । कतारी प्रहरी प्रशासनले ‘विद्युतीय अपराध’ अन्तर्गत डिपोर्ट गर्ने निर्णय नै गरी लामिछानेको फिंगर प्रिन्ट नै गरेको थियो । नेपाली दूतावासबाट ध्यानाकर्षण जनाएपछि उनलाई तत्काल डिपोर्ट गरिएको थिएन ।

 

दीपा राईले आफूले उनीविरुद्ध उजुरी फिर्ता गरेको भन्दै नेपाली दूतावासमा पत्र पठाएकी थिइन् । ‘मैले उजुरी गरेको थिइनँ । लामिछानेलाई पक्राउ गरेपछि मैले उजुरी फिर्ता लिएको पत्र दिएपछि छुट्छ भन्ने दूतावासबाट आग्रह गरेपछि उजुरी फिर्ता गरेको पत्र मात्रै पठाएको हो,’ दीपाले कान्तिपुरसँग भनिन्, ‘म आफैं कामदारको हितका लागि लड्दै आएकी व्यक्ति हुँ ।’ लामिछानेको मुद्दा उच्च अदालतमा पुगेको थियो । अदालतले उनलाई डिपोर्ट नगर्न फैसला गरेपछि प्रहरीले सोमबार एक महिना ११ दिनपछि रिहा गरेको हो ।

 

गत जुनको मध्यमा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध राईले आफ्नो फेसबुक वालमा स्टाटस लेखेकी थिइन् । त्यसमा दाहालको पक्ष लिँदै लामिछानेले कमेन्ट गरेका थिए । जसले गर्दा दुई पक्षबीच आपसी विवाद बढेको थियो ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026