भवानी भट्ट
भारत, सिमलामा मजदुरी गर्न गएका दुई नेपाली गत मंगलबार ब्रह्मदेव नाका हुँदै घर फर्किरहेका थिए । ब्रह्मदेव पुलवारि दुई अपरिचित भेट भए । उनीहरू पनि नेपाली नै रहेछन् । त्यसपछि चारै जना एउटै टोली बनेर अघि बढे । तर, केही वर आएपछि सिमलाबाट फर्किएका दुई जना बेहोस हुन पुगे । बीच बाटामा भेटिएका दुई जनाले उनीहरूलाई लुट्ने उद्देश्यले लठ्याउने पदार्थ मिसाइएको पेय खुवाएका रहेछन् । धन्न, होस पूरै नगुम्दै बस्तीमा पुगेकाले उनीहरू जोगिए । स्थानीयले लुटेरालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए ।
गत साता नै भारत, अम्बालाबाट घर फर्किंदै गरेका बर्दिया, भुरीगाउँका रामबहादुर विक भने जोगिएनन् । गड्डाचौकी पुग्दा उनी रित्तो हात थिए । विकलाई पनि नेपालीले नै लुटेका हुन् । दिल्लीबाट सँगै आएका उनीहरूले रामबहादुर केहीबेर बाहिर निस्केको मौका छोपी बसमा रहेका सबै सामान लुटेका थिए । रामबहादुरलाई ती लुटेराको नामसम्म थाहा छैन । ‘सँगै नेपाल जान्छु भन्थे, एकछिन बाहिर पुगेर आउँदा न सामान देखियो न ती मान्छे,’ उनले भने, ‘१४ हजार भारु र दसैंमा परिवारका लागि किनेका लत्ताकपडा सबै लगेछन् ।’
नेपालीको प्रमुख पर्व दसैं–तिहार नजिकिँदै गर्दा मजदुरीका लागि भारत पसेकाहरू धमाधम घर फर्किंदै छन् । यति बेला सीमानाकामा विभिन्न सवारीसाधनमार्फत् तथा पैदल आउने नेपालीको ताँती नै देखिन्छ । यो संख्या दैनिक हजारौं हुन्छ । यही छेकोमा मजदुरी गरेर कमाएको रकम लुटिने क्रम तीव्र हुन्छ । नेपालीमाथि लुटपाटका अधिकांश घटनामा नेपालीकै संलग्नता हुने गरेको तथ्यांकले देखाउँछ ।
‘हाम्रोभन्दा अलि परको गाउँमा घर छ भन्थे,’ सिमलाबाट फर्कंदा लुटेराको फन्दामा परेका अछामका रामबहादुर बुढाले भने, ‘आफू पनि भारतमै मजदुरी गरेर फर्केको भनी विश्वासमा पारे, आफूसँग ल्याएका खानेकुरा दिए, अन्तिममा चिसो खुवाए, त्यही खाएपछि हामी हिँड्नै नसक्ने भयौं ।’ रामबहादुर बनबासाबाटै आउन खोजे पनि लुटेराले प्रहरीले दुस्ख दिने भन्दै टनकपुर पुर्याएका थिए । हल्द्वानीछेउ बस्तीमा पुगेपछि स्थानीयले लुटेराबारे चाल पाएर विक र उनका साथी शेरबहादुर साउदलाई उद्धार गरेका हुन् । उनीहरूले लुटेरामध्ये बाजुरा, कोटिलाका हिमशिखर मल्ललाई तत्काल नियन्त्रणमा लिई प्रहरीमा बुझाए । अर्का लुटेरा भने भाग्न सफल भए ।
सुरक्षित आप्रवासन क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालका अनुसार पछिल्लो ११ महिनामा भारतबाट घर फर्किंदा लुटिएका ५८ नेपाली सम्पर्कमा आएका छन् । तीमध्ये अधिकांश नेपाली र कतिपय सहकर्मीबाटै लुटिएका छन् । ‘घर फर्किंदा अधिकांश नेपालीबाटै लुटिएकाहरू सम्पर्कमा आएका छन्,’ संस्थाका वरिष्ठ परियोजना प्रबन्धक प्रकाश मडैले भने, ‘निश्चित स्टेसनबाट सँगै आउने र विश्वासमा लिएर नशालु पदार्थ खुवाउने गरेको पाइन्छ ।’ उनका अनुसार लुटेराले छिमेकी गाउँ वा जिल्लाको भन्दै परिचय गर्ने र नजिक हुँदै गएपछि बिस्कुट, चिया र चिसो पेयमा लठ्याउने पदार्थ हाली खुवाउने गरेका छन् ।
कामदारलाई काम गर्ने ठाउँबाटै पछ्याउन सुरु गर्ने लुटेराले मौका पाउनेबित्तिकै नशालु पदार्थ खुवाउने गरेको पाइएको इलाका प्रहरी कार्यालय, गड्डाचौकीका इन्चार्ज सई गोकुल बलायरले बताए । ‘लुटेराले दिल्ली वा हल्द्वानीबाटै पिछा गर्छन्,’ उनले भने, ‘त्यहाँबाट एकअर्काको नजिक हुने र सीमा क्षेत्रमा मौका पाउनेबित्तिकै बेहोस बनाउँछन् ।’ उनका अनुसार ब्रह्मदेवमा बेहोस बनाइएकाहरूसँग आएका लुटेरा पनि हल्द्वानीबाटै मिसिएका थिए । घर फर्किनेलाई लुट्नेमा भारतीयको तुलनामा नेपाली नै बढी रहेको जनाउँदै बलायरले सीमा क्षेत्रमा सुरक्षाकर्मीको सक्रियता र समन्वयले यस्ता घटना न्यूनीकरण गर्न सकिने बताए ।
गत वर्ष दसैं–तिहारको अवधिमा घर फर्किंदा ५ जना लुटिएका थिए । तीमध्ये ३ जनालाई सँगै आएका नेपालीले बहोस पारेको पाइएको छ ।