पेन्सनबाट वञ्चित भारतीय पूर्वकर्मचारी

28 September, 2015

लालप्रसाद शर्मा

 

स्याङ्जा पिढीखोला २ का नरहरि विकले भारतको मिजोरम प्रहरीमा २४ वर्ष सेवा गरे। उनी २ वर्षअघि निवृत्त भएका हुन्। त्यतिखेर उनले एक महिनाको पेन्सनसमेत बुझेका थिए। पेन्सन बुझ्ने पोखरा सारेपछि उनले केही रकम पाएनन्। ‘काकासँग सोधेर मेरो नाम हरिबहादुर लोहार लेखाइएछ। यता नेपाली नागरिकतामा नरहरि विक छ,’ उनले दुखेसो पोखे, ‘दुइटा नाम भएको भनेर पेन्सन रोकिएको छ। त्यत्रो वर्ष सेवा गरेको मान्छेलाई नाम नमिलेको बहानामा पेन्सन रोकियो।’

 

यस्तो समस्या उनलाई मात्र परेको होइन पछिल्लो समय पेन्सन पट्टा र नेपाली नागरिकताको प्रमाणपत्रमा नाम, थर, जन्ममिति नमिल्दा भारतीय भूतपूर्व सैनिक, प्रहरी, अन्य कर्मचारी तथा उनीहरूका परिवारजनले समस्या भोग्दै आएका छन्। उनीहरूलाई अनावश्यक कागजात मागेर पेन्सनबाट वञ्चित गराइएको छ।

 

विशेषगरी सन् १९९० अघि भारतीय सेनामा भर्ती भएका वा अन्य सिभिल जागिर खाएका नेपालीले सास्ती बेहोर्नुपरेको नेपाल भारतीय भूतपूर्व सैनिक कल्याणकारी समितिका अध्यक्ष गजबहादुर गुरुङले बताए। ‘उति बेला नेपाली नागरिकता तथा कुनै कागजातबिनै भारतीय सरकारी सेवामा भर्ना पाइन्थ्यो,’ उनले भने । सेवा अवधि सकिएपछि अनेक कागजात खोजेर दु:ख दिँदा कतै पेन्सनबाटै वञ्चित गराउन खोजिएको आशंका बढेको उनले बताए। नेपालभर करिब ५० हजार भारतीय पूर्वकर्मचारी पेन्सनबाट वञ्चित भएको उनको भनाइ छ।

 

भूपूहरूले भारत सरकारले दिएको पेन्सन पट्टा, डिस्चार्च प्रमाणपत्र, भारतीय सैनिक अधिकारीद्वारा प्रमाणित संयुक्त फोटो र परिवारको औंठाछापलाई अन्तिम डकुमेन्ट मानेर पेन्सन दिन माग गरेका छन्। नेपाली भारतीय भूतपूर्व सैनिक संघर्ष समिति गण्डकी धौलागिरिले पत्रकार सम्मेलनमार्फत ७०/८० वर्ष पुगेपछि नागरिकतामा नाम, थर, उमेर फरक भयो भनेर पेन्सनमा कठिनाइ उत्पन्न गराएको छ।

 

कतिपयको पाइरहेको पेन्सनसमेत बीचैमा रोकिएको भन्दै संघर्षमा उत्रिने चेतावनी समितिले दिएको छ। ‘भारत सरकारले दिएको सबैभन्दा विश्वासिलो डकुमेन्ट हुँदाहुँदै यहाँ विभिन्न कागजात खोजेर हैरानी दिँदा समस्या खेप्नुपरेको छ,’ नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष मनबहादुर गुरुङले भने । पाइराखेकाले पनि पछाडि नागरिकता खोजेर रोकिदिएको भन्दै भूपूहरूले भेला गर्ने, भारतीय दूतावासमा पत्राचार गर्नेदेखि अनशन बस्नेसमेतका कार्यक्रम सार्वजनिक गरेका छन्।

 

विशेष गरी गुरुङ, मगर, क्षेत्री, राई, लिम्बू थर लेखाएका व्यक्तिलाई समस्या परेको छ। सजिलै भर्ती हुने भएपछि थुप्रैले त्यस्ता थर लेखाएका थिए।

तनहुँको भानु ७ का नन्दप्रसाद ढकालले रामबहादुर शाहीको नामबाट भारतको अल इन्डिया रेडियोमा सेक्युरिटी गार्डको काम गरे। ‘त्यहाँ ३० वर्षसम्म काम गरेर ३ वर्षअघि पेन्सनमा निस्केको हुँ,’ उनले भने, ‘अहिले नाम मिलेन भनेर पेन्सनै दिइएको छैन।’ जिल्लाबाट आवश्यक सबै कागजात बनाउँदा पनि अहिलेसम्म पेन्सन नदिइएको ६६ वर्षीय उनले बताए।

  

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026