थाइल्यान्ड पठाउँछु भन्दै ठग्ने महिला पक्राउ

14 August, 2015

काम गर्ने भिसामा थाइल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले स्युचाटारमा डिवेस्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी गायत्री वाग्लेलाई पक्राउ गरेको छ।

 

नवलपरासी घर भएकी वाग्लेले थाइल्यान्ड पठाइदिन्छु भन्दै बूढानीलकण्ठका गोकुल क्षेत्रीसँग तीन लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार आइडिएल कन्सल्टेन्सी एन्ड क्यारियर डेभलपमेन्टका नाममा एक दैनिक पत्रिकामा विज्ञापन छपाएकी वाग्लेलाई क्षेत्रीले फोन गरेका थिए। फोनमा साढे तीन लाख रुपैयाँ लाग्छ र तलब नेपाली ६० हजार रुपैयाँ हुन्छ भनेपछि क्षेत्रीले वाग्लेलाई भेटेका थिए। 

 

वाग्लेले एक लाख रुपैयाँ लिई ‘थाइल्यान्ड पुगेपछि मेरा दाजु भिमेश डोटेलले काममा लगाइन्छिन्’ भनेपछि क्षेत्री थाइल्यान्ड गएका थिए।क्षेत्रीले थाइल्यान्ड पुगेर डोटेललाई भेटी थप दुई लाख ५० हजार रुपैयाँ बुझाएका थिए। 

 

कामको व्यवस्थाका लागि भन्दै क्षेत्रीलाई एक थाई नागरिकको जिम्मा लगाएपछि डोटेल सम्पर्कविहीन भएका थिए। क्षेत्रीले प्रहरीमा उजुरी दिएअनुसार उनी २० दिन थाइल्यान्डमा बस्दा पनि काम नपाएपछि नेपाल फर्किएर पुनः वाग्लेलाई भेटेका थिए।

 

‘रकम फिर्ता गर्न मिल्दैन बरु फेरि जाऊ, कामको व्यवस्था मिलाइदिन्छु’ भनेर वाग्लेले क्षेत्रीलाई दोस्रोपटक थाइल्यान्ड पठाएकी थिइन्। दोस्रोपटक जाँदा पनि काम नपाएपछि फेरि उनी नेपाल आए। यहाँ आएर पैसा फिर्ता माग्दा वाग्लेले दिन नमिल्ने बताएपछि क्षेत्रीले महाशाखामा उजुरी दिएका थिए।

 

प्रहरीले अनुसन्धान गर्दा डिवेस्ट एजुकेसन कन्सल्टेन्सीकी सञ्चालक वाग्लेले कन्सल्टेन्सी सञ्चालनका लागि शिक्षा मन्त्रालयबाट अनुमति नलिएको पत्ता लागेको छ।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026