काम गर्न विदेश जाने क्रम ठप्पप्राय:

6 May, 2015

महाभूकम्पपछि वैदेशिक रोजगारीमा जानेक्रम ठप्पजस्तै भएको छ। सामान्य अवस्थामा दैनिक औसत १५ सय देखि १६ सयले कामका लागि विदेसिन श्रम स्वीकृति लिने गरेकामा वैशाख १२ यता यो संख्या ह्वात्तै घटेको छ। भूकम्प गएको दिनदेखि २२ गतेभित्रमा जम्मा चार दिन मात्र वैदेशिक रोजगारीमा जान चाहनले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार १२ देखि २२ गतेसम्म जम्मा २५ सय २८ जनाले मात्र विदेसिन अनुमति लिएका छन्। यो संख्या सामान्य अवस्थाको तुलनामा न्यून हो। कतिपयको घरमा आर्थिक तथा मानवीय क्षति भएकाले पनि जान सक्ने अवस्था छैन।

वैशाख १३ देखि २२ दिनसम्म आठ दिन सरकारी कार्यालय खुलेको भए पनि श्रम स्वीकृति लिन चार दिनमात्र न्यून संख्यामा युवा आएका विभागले जानकारी दिएको छ।

महाभूकम्पका कारण अझै केही महिनासम्म विदेसिने युवाको संख्या घट्ने सरकार र म्यानपावर व्यवसायीको अनुमान छ। वैदेसिक रोजगारीमा जानेहरू मानसिकरूपमा तयार हुन सकेका छैनन्। 

यसैगरी अधिकांशको गाउँघरमा जनधनको ठूलो क्षति भएकाले त्यहीँ व्यवस्थापन गर्नुपर्ने अवस्था छ। बर्खाको समय नजिकिएकाले पनि खेतीपातीको समय भएकाले रोजगारीमा जानेको संख्या स्वत: कम हुने विगतको तथ्यांक छ।

तर, दसैतिहारपछि भने विदेसिनेको संख्या विगतमा भन्दा अझ बढ्ने व्यवसायी बताउँछन्। घरमा क्षति भएकालाई सरकारले पुनसर््थापना र रोजगारीका अवसर उपलब्ध गराउन नसके वैदेशिक रोजगारीमा जाने युवा थप बढ्ने निश्चित रहेको म्यानपावर व्यवसायी बताउँछन्।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष टंकबहादुर राउत तत्काल नयाँ व्यक्तिलाई काम गर्न विदेश पठाउन नसकिने बताउँछन्। ‘कतिपय वैदेशिक रोजगार व्यवसायीको कार्यालय नै ध्वस्त भएका छन्,’ उनले भने, ‘जाने कामदार पनि सम्पर्कमा छैनन्। सबै व्यवस्थापन गर्न अझै लामो समय लाग्छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026