कोरियाबाट धमाधम आउन थाल्यो कामदारको माग

15 February, 2015

दक्षिण कोरियाले एक सातामा एक हजार नेपाली कामदारलाई छनोट गरेको छ। काम गर्न कोरिया जान भनेर लामो समयदेखि प्रतीक्षासूचीमा रहेकालाई त्यहाँका रोजगारदाताले छानेका हुन्। 

अहिले छानिएकामा अधिकांश कृषि क्षेत्रमा काम गर्न जानेछन्। कोरियाले एक वर्षदेखि कृषिमा अत्यन्त न्यून संख्यामात्र नेपाली कामदार लिएको थियो। पछिल्लो निर्णयले कृषि क्षेत्रमा जान परीक्षा पास गरेर बसेकालाई निकै ठूलो राहत भएको छ। 

ईपीएस कोरिया शाखाका अनुसार गएको एक सातामा छनोटमा परेका हजार जनामध्ये ९५ प्रतिशत कृषितर्फका छन्। बाँकी पाँच प्रतिशतमात्र उत्पादनमूलक क्षेत्रका हुन्।

यसअघि कृषिमा निकै कममात्र माग आएकाले नेपालले कोरिया सरकारको ध्यानाकर्षण गराएको थियो। कृषिमा माग नभएमा परीक्षा नै नलिन वा पास गरेका सबैलाई लैजान नेपालले दक्षिण कोरियाको मानव संसाधन विभागलाई सुझाव दिएको थियो। यो साता एक्कासि हजारजनालाई छनोट गरिएपछि कृषिमा पनि रोजगारीको सम्भावना रहेको देखिएको छ। 

दक्षिण कोरियाका विभिन्न कम्पनीबाट बिहीबार र शुक्रबार गरी दुई सय २१ जनाको करारपत्र (लेबर कन्ट्याक्ट) समेत आएको छ। ईपीएस कोरिया शाखाका अनुसार बिहीबार एक सय पाँचजनाको करारपत्र आएको हो भने शुक्रबार एक सय १६ जनाको आयो। यसबाट अब पाइपलाइनमा रहेकाहरूको करारपत्र धमाधम आउने संकेत देखिएको छ। यसमा केही गएको असोजमा भाषा परीक्षा पास गरेका पनि छन्। 

ईपीएस कोरिया शाखाका अनुसार गएको एक सातामा छनोटमा परेका हजारजनामध्ये ९५ प्रतिशत कृषितर्फका छन्। बाँकी पाँच प्रतिशतमात्र उत्पादनमूलक क्षेत्रका हुन्। 

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले रोस्टरमा नाम रहेकाको लेबर कन्ट्याक्ट द्रुत गतिमा आउन थालेको जानकारी दिए। एक सातामा मात्रै हजारजना नेपाली कामदार कोरियाली रोजगारदाताको छनोटमा परेको उनले बताए। छनोटमा परेकाको अब करारपत्र आउनेछ। एक हजारमध्ये ९५ प्रतिशत कृषि क्षेत्रमा काम गर्न जानेहरू रहेका प्रमुख बास्तोलाले जानकारी दिए। 

कृषिमा गत वर्षको र यसपटकको समेत गरी कुल तीन हजारजनाको नाम कोरिया जाने रोस्टरमा छ। यसमध्ये २२ सय जना गत वर्षदेखि प्रतीक्षासूचीमा छन् भने बाँकी आठ सय जना यसपालिका हुन्। यसैगरी औद्योगिक तथा उत्पादनमूलक समूहतर्फ कुल २७ सय ६८ जनाको नाम रोस्टरमा समावेश छ। 

जसमा चार सय ५० जना पुराना हुन् भने बाँकी यस वर्ष भाषा परीक्षा पास गरेका छन्। भाषा परीक्षा पास गरेपछि दुई वर्षभित्र कोरिया गइसक्नुपर्छ। भाषा पास गरेको एक वर्षसम्म पनि जान नपाउनेको पुन: स्वास्थ्य परीक्षण गरेर रोस्टरमा दोहो:याएर सूचीकृत गर्नुपर्ने हुन्छ। 

कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। त्यहाँ जाने नेपालीले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाइ गर्न सक्छन्। आकर्षक कमाइ हुने भएकाले कोरिया जान चाहने नेपालीको संख्या बर्सेनि बढ्दो छ। उच्चशिक्षा हासिल गरेकाको समेत रोजाइमा कोरियाको रोजगारी पर्ने गरेको छ। 

नेपालले सन् २००८ देखि कोरियामा कामदार पठाउन थालेको हो। दुई देशबीच सरकारी तबरमा मात्र कामदार आदानप्रदान हुन्छ। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विदेशी कामदार भित्र्याउने गरेको छ। 

हाल कोरियामा करिब २६ हजार नेपालीले काम गरिरहेका छन्। एकपटक गएका कामदार चार वर्ष १० महिनासम्म बस्न पाउने नियम छ। पुन: बस्न चाहेमा आफ्नो देशमा फर्किएर भाषा परीक्षा दिई जानुपर्ने हुन्छ। नेपालले कोरिया जान चाहने युवाको संख्या बढ्न थालेपछि रोजगारीका क्षेत्र विविधीकरण गर्न यो मुलुकसँग आग्रह गरेको छ। 

केही समयअघि नेपालले पूर्वाधार क्षेत्रमा पनि आफ्ना कामदार लिन कोरियासँग आग्रह गरेको छ। कोरिया नेपालको प्रस्तावमा सकारात्मक छ। अहिलेको तयार अनुसार काम भएमा आगामी वर्षदेखि पूर्वाधार क्षेत्रमा समेत नेपालीले काम गर्न पाउनेछन्। 

मानवअधिकारको ग्यारेन्टी, कामअनुसार तलब र सुविधा पाइने, सातामा एक दिन बिदासमेत पाउने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा बढेको हो। पछिल्लो समय गैरकानुनी रूपमा बस्नेको संख्या बढ्न थालेपछि भने नेपाललाई टाउको दुखाइको विषय बनेको छ। करिब पाँच सय नेपालीले अवैध रूपमा त्यहाँ काम गरिरहेको अनुमान छ। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026