विदेश छाडेर च्याउखेती सिकाउँदै

30 December, 2014

गोरखा, बारपाक-७ का सित्तल गुरुङ एकताका शिक्षक थिए। पढाउन छाडेर उनी सिंगापुर पुगे। त्यहाँ पनि उनलाई चित्त बुझेन। नेपाल फर्केर उनी गाउँगाउँमा च्याउ र स्याउ खेती सिकाउँदै हिँडिरहेका छन्।

पर्वत जिल्लामा सिताके च्याउखेती थालेका गुरुङले आफ्नो गाउँमा पनि हुने भएपछि अहिले गोरखाको पर्यटकीय गाउँ बारपाकमा सिताके र भुइँ स्याउको खेती गरिरहेका छन्। चार वर्षयता उनले आफूले मात्रै खेती गरेका छैनन्। जिल्लाको एक दर्जन गाविसका किसानलाई यसबारे जानकारी गराएका छन्। घ्याल्चोक, सिम्जुङ, खरिबोट, हंसपुर, गुम्दा, बक्राङ, लाप्राक, घैरुङ लगायत गाविसका किसानले भुइँ स्याउ र सिताके च्याउबाट आम्दानी लिन थालिसकेका छन्। यसको खेती हजार मिटर उचाइको सबैजसो ठाउँमा हुन्छ। सिताके खेती काठको मूढामा गरिन्छ। यसको उत्पादन लिन नौ महिना कुर्नुपर्छ। कटुस र उतिस हुने उचाइँमा यो खेती सजिलै हुन्छ। एउटा मूढामा बीउ समेत राख्दा गाउँमा तीन सय र बजारमा ६ सयमा मूढा तयार हुने गुरुङ बताउँछन्। एउटा मूढामा १० किलोसम्म च्याउ फल्छ। प्रतिकिलो पाँच सय रुपैयाँमा किसानले घरैबाट बिक्री गर्न सक्छन्। बजार पुर्या ए आठ सयदेखि हजार रुपैयाँ प्रतिकिलो बिक्छ। हिमालय हर्बल तथा अर्गानिक फार्मले गोरखाका किसानले उत्पादन गरेको च्याउ र स्याउ बिक्रीका लागि सहयोग गरिरहेको छ। च्याउको तरकारी, जाम, छोइला, सुकाएर राखेर अन्य विभिन्न परिकारसमेत बनाउन सकिन्छ। भुइँ स्याउ माटोमुनि फल्छ। तरुल जस्तो देखिने यो निकै स्वादिलो हुने किसान बताउँछन्। यसको उत्पादन लिन किसानले करिब नौ महिना नै कुर्नुपर्छ। एउटा बोटमै २० किलोसम्म फल्ने र प्रतिकिलो सयदेखि दुई सय रुपैयाँमा बिक्री हुन्छ। भुइँ स्याउ बढीजसो वाइन, ह्विस्की र ब्रान्डी बनाउन प्रयोग गरिने ग्रामीण भेगमा यसको खेती सिकाइरहेका गुरुङ बताउँछन्। ग्रामीण भेगमा उत्पादन भएका यी वस्तु सहर र विदेशमा धेरै माग हुने भएकाले जति धेरै उत्पादन भए पनि बजारको समस्या नहुने उनी बताउँछन्। च्याउको परिकार र भुइँ स्याउको वाइन विदेशमा निकै प्रख्यात छ। बिस्तारै नेपाली बजारमा पनि यसको महŒव बढ्दै गएको गुरुङले बताए। गुरुङले तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, सिन्धुली, चितवनमा पनि भुइँ स्याउको खेती गरेका छन्। उनले यस वर्षदेखि भुइँ स्याउ प्रशोधन गरेर वाइन, ब्रान्डी, जुस, जाम बारपाकमै बनाउन थालेको बताए। …घरेलु प्रविधिबाटै बनाउन थालेको छु, अब मेसिन ल्याएर उद्योगकै रुपमासुरु गर्छु,’ गुरुङले भने। अहिले उनले नौ सय रोपनी क्षेत्रफलमा व्यावसायिक भुइँ स्याउखेती गरेका छन्। ५५ सय मूढामा सिताके खेती गरेको उनले जानकारी दिए। जिल्लाको ग्रामीण भेगका किसानसम्म स्याउ र च्याउ खेतीको जानकारी दिन गुरुङले आइतबार गोरखाका प्रशासन प्रमुख र पत्रकारको उपस्थितिमा कार्यक्रमसमेत गरे। उनले यसको फाइदा, बजार र आम्दानीबारे बुझाउँदै सरोकारवाला निकाय र व्यक्तिलाई यसमा ध्यान दिन अनुरोध गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024