बाबु बाजेदेखि कमाइका लागि भारतका विभिन्न क्षेत्रमा जाने अधिकांश युवा राम्रो कमाइ हुने आशाले भारत छाडी खाडी मुलुकमा जान थालेका छन्।
सदरमुकाम गमगढीनजिकको कार्कीबाडा गाविस ९ माथितुमामा अहिले कोही मर्दापर्दा वा बिरामी पर्दा बोकेर अस्पताल लैजाने युवासमेत छैनन्। यो गाउँबाट मात्र १६ जना युवा खाडीका विभिन्न देशतिर हिँडेपछि गाउँ नै सुनसान बनेको हो। जिल्लाका २४ गाविसका झन्डै एक हजार युवा खाडी मुलुक गएका छन्। जिल्ला प्रशासन कार्यालय मुगुको राहादानी फाँटको तथ्यांकअनुसार जिल्लाभरका एक हजार तीन सय ९६ जनाले हस्तलिखित र एमआरपी पासपोर्ट लगेका छन्।
अहिले सबैभन्दा बढी कमाइका लागि खाडी मुलुक जानेमा कार्कीबाडा गाविसका युवा छन्। उक्त गाविसबाट एक सयभन्दा बढी युवा बिदेसिएका छन् भने अरू गाविसमा पनि ३० देखि ५० सम्माको संख्यामा युवा बिदेसिएका छन्। बेरोजगार भएर गाउँमा बस्नुभन्दा कमाइका लागि बिदेसिनु बाध्यता रहेको नासा हुमन रिसर्च कम्पनीका एजेन्ट देवीसिंह सावतले बताए। उनले आफ्नो कम्पनीले युवालाई मलेसिया, दुबई र कतार पठाएको बताए।
अहिले जिल्ला प्रशासन कार्यालयमा मात्र एमआरपी राहदानीका लागि आवेदन दिन मासिक ४५ जनाभन्दा बढी युवा आउने गरेका छन्। हस्तलिखित राहदानी लिएकाहरू पनि एमआरपी बनाउन त्यत्तिकै संख्यामा आउने गरेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए। शिक्षित भएर पनि कतै जागिर नपाएको र व्यापारव्यवसाय गर्न चाहेजति पैसा नभएपछि बाध्य भएर आफू मलेसिया जाने तयारीमा लागेको कार्कीबाडा ९ का मीन रावलले बताए। बेरोजगारीकै कारण युवा दिनानुदिन बिदेसिन थालेपछि अहिले गाउँघरमा कोही मर्दा पनि घाटमा पुर्याउने मान्छे छैनन्।
कुनै बेला अन्नबाली भित्र्याएपछि घरपरिवारलाई लुगाफाटोको जोहो गर्न दुईतीन महिना भारततिर गएर फर्कने चलन थियो। तर अहिले युवा खाडीतिर जान थालेपछि घरमा हलो जोत्ने मान्छे नहुँदा भीरपाखोको जग्गा बाँझो राख्नुपर्ने बाध्यता रहेको चक्र रावलले बताए।